धरान/नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ एक नम्बर प्रदेश कमिटीले सुनचाँदी रत्न तथा आभूषण महासङ्घ १ नम्बर तदर्थ कमिटी गठनको वैधानिकतामाथि प्रश्न उठाएको छ ।

महासङ्घमा आवद्ध सङ्घहरूलाई नसमेटि एकलौटी ढङ्गबाट तदर्थ समिति गठन गरेकाले वैधानिकतामाथि शुक्रबार पत्रकार सम्मेलन गरी प्रश्न उठाएको हो । केही दिनअघि धरानमै विशन शाक्य संयोजकत्वमा महासङ्घको १ नम्बर प्रदेश तदर्थ समिति गठन गरेको थियो । समितिमा आभूषण सङ्घमा आवद्ध पदाधिकारीलाई मात्रै समेटिएको सङ्घका प्रदेश १ नम्बर कमिटीका अध्यक्ष प्रेमबहादुर विकले जनाए ।

उनले प्रदेश १ कमिटी गठन गर्दा महासङ्घमा आवद्ध सबै सङ्घसङ्गठनका प्रतिनिधिलाई समेटेर महासङ्घ गठन गर्नुपर्ने माग उठाए । ‘यो समिति एकलौटी ढङ्गबाट अघि बढेको छ । यसको वैधानिकता के हो ? यसमा हाम्रो आपत्ति छ ।’ उनले पत्रकार सम्मेलनमा भने । महासङ्घ सुनचाँदीमा आवद्ध संस्थाको छाता संस्था हो । केन्द्रमा २५ वटा संस्थाहरू आवद्ध छन् भने प्रदेश १ मा पाँच वटा संस्था आवद्ध छन् । पाँच वटा संस्थाका कुनै पनि प्रतिनिधि नराखी प्रदेश कमिटी गठन गरेकोमा आपत्ति जनाएको सङ्घका झापा जिल्ला अध्यक्ष टङ्क विश्वकर्माले बताए ।

८ वटा जिल्लाका प्रतिनिधिहरू समेटेर मङ्गलबार तदर्थ समिति गठन गरिएको थियो । अन्य जिल्लाका प्रतिनिधिलाई पनि समेटेर प्रदेश महासङ्घ बनाउने शाक्यले बताएका थिए । तर, कला व्यवसायीले यसलाई गुटगत समूहको संज्ञा दिएको छ ।