भद्रपुर/ अघिल्लो सरकारका पालामा शुरु भएका योजनाहरू वर्तमान सरकारले बजेट नपठाएर रोकिएको गुनासा आएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्थलगत अनुगमन गरेको छ । झापाको दक्षिणी क्षेत्रमा निर्माणाधीन रहेका दर्जन बढी करोडौंका आयोजनाका काममा बजेटका कारण भइरहेको ढिलासुस्तीबारे अनुगमन गरेका हुन् ।
बहुवर्षे आयोजना अन्तर्गत १६ करोड ३६ लाख ५० हजार ७ सय ५५ को चारआली–केचना चक्रपथ, ५ करोडको केचना खानेपानी ट्याङ्की, १६ करोड ३६ लाख ६३ हजार ८ सय ४९ को पाठामारी–बालुवाडी सडक, १ करोड ५४ लाखको सुकुनाडिगी खानेपानी ट्याङ्की, १ करोड २० लाखको पथरिया कृषि तालिम सामुदायिक भवन, १० करोड २२ लाखको सुकुनाडिगी–घेराबारी सडक, ५ करोड ५५ लाखको, घेराबारीस्थित देउनिया खोला पुल, बिरिङ खोला झोलुङ्गेपुल, भद्रपुरस्थित भैंसाबाडी जोड्ने मेची खोला झोलुङ्गे पुल, पाठामारी स्थित मेचीखोलाको झोलुङ्गे पुललगायत दर्जन बढी करोडौंका आयोजनाका काममा बजेटका कारण भइरहेको ढिलासुस्ती बारे प्रदेश सांसद् ओमप्रकाश सरावगीले चासो राख्दै स्थलगत अनुगन गरेका थिए । उनले २१ करोडको भद्रपुरस्थित मेची अञ्चल अस्पताल भवन र ११ करोडको गिरिजाप्रसाद स्मृति भवन केही दिनअघि अनुगमन गरिसकेका छन् ।
सडक, खानेपानी, पुल कल्र्भट, सिंचाइ, भवनजस्ता महत्वपूर्ण बहुवर्षे आयोजनाका काम वर्तमान सरकारले बजेट नपठाएर रोकिएकोे जनगुनासो आएपछि प्रदेश सांसद् सरावगीमार्फत् प्रदेश र केन्द्रीय सरकारलाई काम सुचारू गर्न दबाव दिने उद्देश्यले स्थलगत अनुगमन गरेका हुन् । विकासमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा निर्माणाधीन विकास आयोजनाका काम रोकिएको जनगुनासो बढेपछि अनुगमन गरिएको सरावगीले बताए । स्थलगत अनुगमन गरी जनताका समस्यामाथि चासो राख्ने काम शुरु गरिएको उनले जनाए । विगतको सरकारका पालामा शुरु भएका महत्वपूर्ण बहुवर्षे आयोजना निर्माणका लागि छुट्याइएको बजेट रोकेर निर्माणमा अवरोध सिर्जना भएकोप्रति स्थानीयले सांसद् सरावगीसमक्ष गुनासो पोखेका थिए ।
अनुगमन टोलीमा नेपाली काङ्ग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, क्षेत्रीय उपसभापति चिन्तामणि खरेल, झापा जिल्ला सदस्य कालेन्द्र राजवंशी, महिला सङ्घ भद्रपुर नगरसदस्य ज्योति न्यौपाने, नविसङ्घ झापा सचिव नारायण नेपाललगायत रहेका थिए । अनुगमनका क्रममा टोलीसित निर्माणअवधि ८० प्रतिशतसम्म पूरा भएर पनि ४० प्रतिशत हाराहारीमा काम रोकिएका अधिकांश आयोजनाको कामको अवस्था बारे सङ्घीय र प्रदेश सरकारले बेवास्ता गरेको कचनकवल–४ का वडाअध्यक्ष परमानन्द राजवंशीले गुनासो गरेका थिए ।
निर्माणका चरणमा रहेका केही आयोजनाका काम सुस्त गतिमा भइरहे पनि निर्माणस्थलमा सरकारी प्राविधिकले अनुगमन तथा सुपरीवेक्षणको काम नियमित नगर्दा गुणस्तरहीन निर्माण भइरहेको पाइएको सांसद् सरावगीले बताए । अनुगमनपश्चात् यस क्षेत्रका रोकिएका सबै आयोजना सुचारू गराउन प्रदेश संसद्मा जोडदार आवाज उठाउने स्थानीयलाई उनले आश्वस्त पारेका थिए । प्रदेश सरकारको ढोकामा उभिएर यी सबै आयोजना अलपत्र पार्ने खेल बन्द गराएरै छोड्ने वचनसमेत उनले दिएका थिए ।
सङ्घीय संसद्का प्रतिनिधि राजेन्द्र लिङ्देन निर्वाचन जितेपछि नफर्किएको स्थानीय मोहम्मद नुरुज्माले आरोप लगाएका छन् । अधिकांश क्षेत्र विकट तथा पछाडि परेका नागरिकको बसोबास भएको सो निर्वाचन क्षेत्रमा चुनावअगाडि हरेक दिन आउने लिङ्देन सांसद् भएपछि रोकिएका आयोजना सुचारुको पहल गरिदेऊ भनेर बिन्ती गर्दा समेत नफर्किएको उनीलगायत अधिकांश स्थानीयले दुःखेसो पोखेका थिए ।
































