धरान/ ‘ब्लडमनी’ नतिरेको अभियोगमा ३ वर्षदेखि साउदी अरबको अलकासिमस्थित बुरैदा जेलमा बन्दी जीवन बिताइरहेका सुनसरी वराहक्षेत्र–२ चतराका भूपाल बस्नेत जेलमुक्त भई बुधबार स्वदेश फर्किएका छन् ।
लामो समयदेखि कतारमा कार्यरत बस्नेतका छिमेकी सुवास गौतमको पहलमा मोरङ सुनसरी सेवा समाज कतार, कुबेत, बहराइन, साउदी अरब र गैर आवासीय नेपाली सङ्घलगायत व्यक्तिगत सहयोगबाट सङ्कलित ७५ हजार ३ सय रियाल अर्थात् २२ लाख ९१ हजार ३ सय ७९ रुपैयाँ ‘ब्लडमनी’ तिरेर बस्नेतलाई जेलमुक्त गरी स्वदेश फर्काइएको हो ।
पञ्चर भएको गाडी पार्किङका लागि बस्नेतले सडक किनारमा राखेको बेला पछाडिबाट तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा सो गाडीका चालकको मृत्यु भएको थियो । घटनापछि बस्नेत तीन वर्षसम्म साउदीको अदालतमा तारिख धाए । ‘ब्लडमनी’ कम्पनीले दिने भएपछि उनी स्वतन्त्र रूपमा नेपाल फर्किएका थिए । गाडीको बिमा नभएका कारण कम्पनीले नै ‘ब्लडमनी’ तिर्नुपर्छ भनेपछि बस्नेत नेपाल फर्कन पाएका थिए । घर फर्किएर उनी केही महिना परिवारसँगै रहे । तर पुनः रोजगारीका लागि साउदी अरब पुग्दा उनी विमानस्थलबाटै पक्राउ परे ।
आरोपबाट सफाइ पाई स्वदेश फर्किएका उनलाई पुनः सन् २०१६ मा रोजगारीकै क्रममा साउदी अरबको रियाद विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । ६ वर्षअघि जेद्दा रोडमा भएको सडक दुर्घटनामा उनी २५ प्रतिशत दोषी भएको भन्दै उनलाई पक्राउ गरिएको थियो । योे सडक दुर्घटनामा एकजना साउदी नागरिकको मृत्यु भएको थियो । त्यसबापत् बस्नेतले ब्लडमनी तिर्नुपर्ने भयो ।
पहिले काम गरेको मालिकले साउदी नागरिकलाई दिनुपर्ने ‘ब्लडमनी’ नदिएका कारण आफू पक्राउ परेको बस्नेतले बताए । बस्नेतलाई रियादबाट झण्डै ३५० किमी टाढा रहेको अलकासिम बुरेदा जेलमा राखिएको थियो । साउदी सरकारले बस्नेतलाई ‘ब्लडमनी’बापत् मृतकका परिवारलाई ७५ हजार रियाल बुझाउनुपर्ने बताएको थियो । दुर्घटनाको जिम्मा पुरानो कम्पनी बुरेदा अलमहमिदले लिएन । बस्नेतले धेरै पटक कम्पनीका मालिकलाई फोन गरे । तर कम्पनीका मालिकले तिर्न मानेनन् ।
सरकारले पनि सहयोग गरेन बस्नेतको मुद्दामा साउदीस्थित नेपाली दूतावासले समेत साउदी नागरिककै पक्षमा रहेर कन्सुलर विभागलाई जानकारी पठाएको थियो । दूतावासलाई उद्धृत गर्दै कन्सुलर सेवा विभागले दिएको जानकारीअनुसार बस्नेतले साउदीमा ट्राफिक दुर्घटना गराएका हुन् । कम्पनीका मालिकले उनलाई जमानीमा बसेर नेपाल फर्काएका थिए । तर बस्नेत पुनः साउदी फर्कँदा पुराना कम्पनी मालिकलाई सम्पर्क नगरी अर्कै म्यानपावरमार्फत पुगेपछि विमानस्थलमै पक्राउ गरिएको हो ।
बस्नेतलाई पुरानो मुद्दामा पक्राउ गरिएकाले ‘ब्लडमनी’ नतिरी जेलमुक्त गर्न नसकिने दूतावासले जानकारी दिएको थियो । विदेशका जेलमा बसेका नेपालीलाई छुटाउन कति ब्लडमनि तिर्नुपर्ने भन्ने तथ्याङ्क सरकारी निकायसँग पनि छैन । विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि परराष्ट्रका नाममा अर्थ मन्त्रालयले निकासा हुने गरी बजेट छुट्याउने गरेको छ । नेपाली नागरिकको प्रतिरक्षा गर्ने काम सरकारको हो । तर सरकारसँग यसको ठोस नीति केही पनि छैन ।
‘ब्लडमनी’लगायत वैदेशिक रोजगारीका समस्या समाधानका लागि अर्थ मन्त्रलायले परराष्ट्र मन्त्रलायका नाममा बजेट निकासा गर्ने गरेको छ । आपतकालीन उद्धारका लागि रकम निकासा गर्दै आएको छ । तर पनि ‘ब्लडमनी’ तिर्न नसकेर मरुभूमिका जेलमा जीवन बिताइरहेका नेपालीका पक्षमा उल्लेखीय काम हुन सकेको छैन । नेपाली नागरिकको जीउधनको रक्षा गर्नु सरकारको काम भए पनि मन्त्रालयले अपराधमा प्रोत्साहन हुने हुँदा यो नीति लिएको छैन ।
नेपालीको सहयोगमा फर्किए बस्नेत
कतारमा कार्यरत वराहक्षेत्रवासी, मोरङ सुनसरी सेवा समाज कतारका पदाधिकारी तथा सदस्यहरूबाट १ लाख ४१ हजार सङ्कलन गरिएको थियो । त्यस्तै मोरङ सुनसरी कुबेत समाजबाट ३५ हजार, मोरङ सुनसरी बहराइन समाजबाट २५ हजार तथा अभियन्ता देशबहादुर खडका १५ हजार र बराहक्षेत्र २ की अमेरिका बस्ने निर्मला तामाङबाट १० हजार गरी जम्मा २ लाख २६ हजार सहयोग गरिएको थियो ।
साथै मोरङ सुनसरी सेवा समाजको समन्यवमा गैर आवासीय नेपाली सङ्घले २ लाख ३० हजार सहयोग गरेको थियो । गैरआवासीय नेपाली सङ्घ क्षेत्रीय समन्वय समिति अलकासिम साउदीबाट २ लाख ४६ हजार ३ सय, अलकासिम साउदीमै क्रियाशील संस्था गन्तव्य नेपालमार्फत् २ लाख १४ हजार ७ सय ७२ सङ्कलन गरिएको थियो ।
नेपाली प्रवासी समाज हाएलमार्फत् ३२ हजार २ सय ३३ रुपैयाँ, प्रेम राई उद्धारको क्रममा बचत भएको रकमबाट २ लाख सहयोग गरिएको थियो । वराहक्षेत्र युवा मञ्च काठमाडौंबाट ११ हजार १ सय ११ रुपैयाँ, कुमार राना उद्धार समितिबाट ११ लाख सहयोग भएको थियो ।
































