पथरीशनिश्चरे/ उत्तरी मोरङको लेटाङ ३ स्थित दार्जीलिङ लाईनकी एक ७० वर्षिय दलित वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ ।

छिमेकी ५० वर्षीया तारादेवी श्रेष्ठ र छोरी २७ वर्षीया रेनुका श्रेष्ठले विभा रसाइलीमाथि निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

आफ्नो नावालक नातीलाई कुटेको भन्ने कुरा कसैले सुनाएपछि एक्कासी तारादेवी सहितले कुटपिट गर्दा रसाइलीको आँखा, टाउको, अनुहार, छाती, पिठ्यूमा निल डाम सहितको चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

गत चैत २० गते भएको कुटपिटको सो घटना गाउँमै मिलाउन खोज्दा कुटपिट गर्ने पक्षले माफी माग्न र औषधि उपचार खर्च व्यहोर्न नमानेपछि घटना सार्वजनिक भएको उल्लेख छ । पिडक विरुद्ध प्रहरीमा उजुरी दिइ कारबाही अघि बढाउने पिडीत पक्षको भनाई छ ।

त्यसैगरी, जिल्लाको पथरीशनिश्चरे ९ रिंगुवाकी ६० वर्षीया शिवमाया पाण्डे माथि अज्ञात व्यक्तिले कुटपिट गरी गरगहना चोरी गरेको छ ।

राती कसैले गाई फुक्यो भनेर कराएपछि बाहिर निस्कदा पछाडिबाट चिपर्टले टाउकोमा प्रहार गरी कानमा लगाएको ६ आना र घाटीमा लगाएको ४ आनाका सुनका गहना लुटेर लगेको प्रहरीले जनाएको छ । घाइते पाण्डेको टाउकामा ७ टाँका लगाइएको छ ।