काँकडभिट्टा/ मेचीनगरका–६ काँकडभिट्टाका ४३ वर्षीय चन्द्र ढुङ्गेलले बेकरी व्यवसायबाट केही लाखको लगानीलाई करोडमा रुपान्तरण गरेका छन् । काँकडभिट्टास्थित नेहा स्नेहा बेकरीलाई भरपर्दो व्यवसाय बनाएका छन् । यही व्यवसायबाट उनी आत्मनिर्भर पनि बनेका छन् ।

०७३ सालदेखि ढुङ्गेल बेकरी व्यवसायमा व्यस्त छन् । ३ लाख बाट शुरु गरेको उनको बेकरीमा अहिले १ करोडको भन्दा बढीको लगानी छ । बेकरीमा दैनिक १७ जना युवा–युवतीलाई ढुङ्गेलले रोजगारी दिएका छन् ।

यस अघि काठमाडौंमा डेरी सञ्चालन गर्दै आएका ढुङ्गेलका अनुसार उनले ५० कट्ठा जमिन लिजमा लिएर ५० लाख भन्दा बढी खर्च गरेर गाईपालनसँगै दूध डेरी सञ्चालन गर्दै आएका थिए । तर, ०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले व्यवसायमा पूरै असर परेपछि उनी काँकडभिट्टा आए । आफ्नै घरबाट ४ किलो मैदापिठोबाट पुनः व्यवसाय शुरु गरे । हाल आएर उनको यो व्यवसायमा ३ सय किलो मैदा खपत हुन्छ ।

‘काठमाडौं बस्दा डेरी सञ्चालन गरेको अनुभव थियो त्यसपछि झापा आएपछि आफैंले जानेको सीप गरौं भन्ने भयो काँकडभिट्टामा कुनै पनि बेकरी थिएन, एउटा जन्म दिन मनाउनका लागि केक लिनका लागि भारतको बजार र बिर्तामोड जानु पर्ने बाध्यता काँकडभिट्टाबासीमा थियो,’ ढुङ्गेलले भने, ‘त्यही भएर काँकडभिट्टामा बेकरी खोलेँ, पछि सोचेको भन्दा बढी केक र अन्य सामान बजारमा खपत हुन थाल्यो ।’

सबै खर्च काटेर मासिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको ढुङ्गेल बताउँछन् । काँकडभिट्टा र धुलाबारीमा बेकरीका शाखा पसल पनि सञ्चालनमा रहेको उनी बताउँछन् । मेचीनगरमा गुणस्तरीय तथा आधुनिक तरिकाको बेकरी सञ्चालन गर्ने उनको लक्ष्य रहेको बताउँछन् ।

यही व्यवसायमा नै भविष्य देखेका उनी बाँकी जीवन पनि यसैबाट निर्वाह गर्ने बताउँछन् । उनी भन्छन्, ‘दैनिक हजारौं युवा–युवती नेपालमा रोजगारी पाइँदैन भन्दै विदेश पलायन भइरहेका छन् तर नेपालमा पनि थोरै पुँजीमा धेरै आम्दानी गर्ने थुप्रै व्यवसाय छन्, जस्तै बेकरी व्यवसाय पनि एउटा हो ।’