धरान/ बाराको फेटा गाउँपालिका ६ का हावाहुरी पीडितहरूलाई नगदसहित विभिन्न सामग्री प्रदान गरिएको छ ।
१० मृतक परिवारलाई २ हजारका दरले नगद प्रदान गरिएको छ । त्यस्तै अपाङ्ग एक महिलालाई पनि २ हजार प्रदान गरिएको हो । हावाहुरीबाट पीडित ५० परिवारलाई भान्सामा प्रयोग गरिने ग्यास, चुल्हो, भाडावर्तन प्रदान गरिएको सुनसरीबाट प्रतिनिधित्व गरेका अभियन्ता महेन्द्र राईले जानकारी दिए ।
विद्यार्थीहरूका लागि शैक्षिक सामग्रीसहित साबुन, कोलगेट, सेनेटरी प्याडलगायतका सामग्री वितरण गरिएको छ । महिलाका लागि ५० थान साडी, पुरुषका लागि ५० थान धोती र बालबालिकाका लागि उमेरअनुसारका कपडा वितरण गरेको उनले जानकारी दिए । उनका अनुसार ३ लाख ३० हजार रुपैयाँ बराबरको सामग्री दिइएको हो ।
हावाहुरी पीडितका लागि सुनसरीबाट राई, स्याङ्ग्जाबाट हुसेन जी, रोल्पाबाट कविराज बानियाँ, अछामका हिमाल उपाध्याय र जापानमा कार्यरत ज्वाला सङ्ग्रौलाले सहयोग सङ्कलन गरेर सामग्री प्रदान गरिएको हो ।
































