तेह्रथुम/ मध्यपहाडी लोकमार्ग निर्माणको लागि म्याङलुङ बजारदेखि खोरुङ्गा खोलासम्मको काम गर्ने जिम्मा लिएका ठेकेदारले समयमा नै काम नसक्ने जनाएका छन् ।

म्याङलुङ बसपार्कदेखि हलिमेलाको खोरुङ्गा खोलासम्म १० किलोमिटर पिच असार मसान्त सम्ममा गर्न नसक्ने शनिबार म्याङलुङमा पत्रकार सम्मेलन गरी जनाएका हुन् । असार मसान्त सम्ममा पिच गर्नका लागि सबै तयारी पूरा गरी काम गरिरहे पनि यस वर्ष बेलैदेखि बारम्बार पानी परेका कारण पिच गर्न नसकिने भएको आश्रय निर्माण सेवाका प्रबन्ध निर्देशक रामाश्रय शाहले बताए ।

पिच गरि सक्नु पर्ने म्याद असार मसान्त सम्म भएकाले सडकमा १ सय ५० जना कामदार, ग्रेडर, रोलर, एस्काभेटर, भ्याकु लोडर, टिपर, पानी ट्याङ्की, क्रसर, टूक, ट्याक्टर लगायतका सम्पूर्ण उपकरण ल्याएर काम गरिरहेको निर्देशक शाहले बताए ।

पिच गर्नका लागि २२ डिग्री भन्दा बढी तापक्रम हुनुपर्छ । कालोपत्रे गर्नुभन्दा अगाडिका सम्पूर्ण काम लगभत ७० प्रतिशत सकेको इञ्जिनियर पोख्रलले जानकारी गराए ।

लोकमार्ग निर्माणका लागि हिमदुङ्ग एण्ड थोकर/अश्रय निर्माण सेवा जेभीले २०७२ साल असोज देखि काम गरिरहेको छ । यसअघि १५ महिना थपेको म्याद असार मसान्तसम्ममा सकिँदैछ । म्याङलुङ बसपार्कदेखि हलिमेलाको खोरुङ्गा खोला सम्म डिवेष्टी पिच गर्नका लागि २९ करोडमा सम्झौता भएको निर्माण सेवाले जनाएको छ ।