एजेन्सी । विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ ।
मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो । चीनको दक्षिणपश्चिम यूनान प्रान्तको उपोष्ण क्षेत्रमा अवस्थित सानो तालमा रहेको जमिनको सतहमा गरिएको हावाको मात्रात्मक रेकर्डको अध्ययनबाट वैज्ञानिकहरूले यो कुरा पत्ता लगाएका हुन् ।

‘चाइनिज एकेडेमी अफ साइन्सेस र कोलम्बिया यूनिभर्सिटी’ ले यही मार्च महिनामा सार्वजनिक ‘अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जोर्नल रिपोर्टमा उक्त कुरा दावी गरिएको छ । विगत दुई हजार बर्षमा पृथ्वीको जलवायु प्रणालीमा प्राकृतिक घटनाभन्दा मानव विकास र उत्पत्तिजन्य कार्यका कारण उत्सर्जन भएको हरितगृह ग्यासका कारण बढी प्रभावित बनेको जनाइएको छ । तर यो अनुसन्धानपूर्व जलवायुका बिषयमा रहेका तथ्याङ्कले विभिन्न महादेशको करिब एक हजार बर्षको रेकर्ड देखाएका थिए ।

पानी र हावाले जम्मा गरेका तियानकाई तालका सतहका नमूना ९सेडिमेन्ट स्याम्पल०, जुन समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेका छन्, ले दुई हजार बर्ष पहिलेको जलवायुबारेको तथ्याङ्क उजागर गरेको हो । उक्त नमूनाहरूलाई मानवीय गतिविधिले प्रभावित नगरेको र यसले हजारौँ बर्ष पहिलेको तापक्रमको उतार–चढावलाई मापन सम्भव भएको अनुसन्धान रिपोर्टमा दावी गरिएको छ ।