मधुमल्ला / उर्लाबारी नगरपालिका–१ का स्थानीयबासीले क्रसर उद्योग हटाउन माग गर्दै रिले अनसन सुरु गरेका छन् ।
उनीहरुले सडकको छेउमा त्रिपाल टाँगेर रिले अनसन शुरु गरेका हुन ।स्थानीयले क्रसर सार्ने आदेश माग गर्दै उच्च अदालत विराटनगरमा रिट हालेका थिए । क्रसर उद्योगका कारण गाउँ छोड्नु पर्ने अवस्था भए पछि स्थानान्तरणका लागि आदेश मागसहित उच्च अदालतमा रिट निवेदन दिएको भ एपनि हालसम्म कुनै सुनुुवाई नभएपछि स्थानीय आन्दोलित भएका हुन् ।

स्थानीय जगन्नाथ दाहालले क्रसर उद्योगका कारण पानीको मुहान सुक्ने, वातावरणमा प्रतिकुल असर पुग्ने, बर्षाको समयमा बस्ती डुब्ने खतरा रहेको भन्दै तत्काल क्रसर उद्योग हटाउनु पर्नेमा जोड दिए । ‘दुईवटा क्रसरले गर्दा गाउँमा बस्न सक्ने अवस्था छैन ।’ उनले भने ‘फेरि तीनवटा थप्दैछन् ।’ मापदण्ड विपरित बस्तीकै सामुन्ने राखिएका क्रसर हटाउन आग्रह गर्दा स्थानीय र प्रदेश सरकारले कुनै चासो नदिएको स्थानीयको आरोप छ ।

क्रसरका कारण उर्लाबारी–१ का तिनखोप्रे, चार घरे, खयरबारी बस्तीका स्थानीयबासी र स्थानीय विद्यालयका विद्यार्थीहरुसमेत प्रभावित भएका छन् । ‘राती घरमा सुत्न सकिदैन’ स्थानीय चन्द्रबहादुर दाहाल भन्छन् ‘ तत्काल क्रसर उद्योग हटाउँ ।’ क्रसर दिउँसो नचलेपनि ढुवानीका लागि कुद्ने ट्रिपरका कारण अध्यापनमा समस्या भएको स्थानीय लक्ष्मी थापाको भनाई छ । ‘धुलो उडेर बसिसक्नु छैन’ उनले भनिन्–‘क्रसरका कारण हामीलाई बस्न पनि मुस्किल छ ।’

बस्ती छेउमा बनेका क्रसरका कारण खयरबारी, बिहीबारे, चपुरलगायतका बस्तीलाई असर गरेको छ । स्थानीयका अनुसार पञ्चेश्वर क्रसर र पूर्वेली क्रसर उद्योग सञ्चालित छन् । देवीस्थान मिरल क्रसर, माँ पाथीभरा क्रसर र एग्रोभेटनर क्रसर सञ्चालनको तयारीमा छन् ।

47299194_2184147821912182_4561436378532937728_n