सिरहा/ सप्तरीमा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका आधा दर्जन पानी उद्योगमा शिलबन्दी गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको भन्दै ति पानी उद्योगहरूमा शिलबन्दी गरेको हो ।
सप्तरीको विभिन्न स्थानमा सञ्चालनमा रहेका पानी उद्योगहरूमा सर्वपक्षीय अनुगमन गर्दा निर्देशिका विपरीत सञ्चालनमा रहेको पाइएको भन्दै सप्तरी सदरमुकाम राजविराजस्थित ओम फुड्स एण्ड वेभेरेजेज इण्डष्ट्रिज, नेपाल वेभेरेजेज, सप्तरीको कञ्चनरूप नगरपालिका–२ स्थित बैधनाथ जल उद्योग, कञ्चनरूप नगरपालिकाको ठेलियास्थित शिवशङ्कर फुड एण्ड वेभेरेजेज इण्डष्ट्रिजमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका वीरेन्द्र एण्ड सन्स फुड वेभेरेजेज इण्डष्ट्रिज र एसएच एण्ड सन्स पानी उद्योग खोक्सरलाई पनि शिलबन्दी गरिएको प्रमुख सिंहले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मीलगायतका सहभागितामा भएको अनुगमनका क्रममा मापदण्ड विपरीत पानी उद्योगहरू सञ्चालन गरेको पाइएपछि शिलबन्दी गरिएको प्रमुख सिंहले बताए । उद्योगहरू मापदण्ड नपुगेको र न्यूनतम सरसफाइसमेत नपाइकाले शिलबन्दी गरी पानीको उत्पादन बन्द गराइएको प्रमुख सिंहको भनाइ छ ।