विराटनगर/ अदालतले गरेको फैसला बमोजिम चार जना कर्मचारीहरूको पैसा दिन तयार रहँदा पनि अनावश्यक रूपमा दुःख दिने गरेको विराटनगरस्थित रत्ना होटलका प्रबन्ध निर्देशक रेवतबहादुर थापाले बताएका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी होटलका निर्देशक थापाले कर्मचारीलाई अदालतको फैसलाअनुसार पारिश्रमिक दिन तयार रहँदा पनि विभिन्न बहानमा पैसा नलिकन दुःख दिने गरेको बताएका हुन् । २०६८ भदौं २३ गते श्रम अदातले गरेको फैसला बमोजिम काम गरेको आधारमा रामेश्वर बुढाथोकी, दुर्गाप्रसाद उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्कालाई तलब दिन तयार रहँदामा पनि लिने वातावरण श्रम कार्यालयले नगरेर बरु उल्टै होटल बन्द गर्ने काम गरिरहेको थापाको आरोप छ । २०६८ सालबाट शुरु भएको मुद्दा गत असार २७ सर्वोच्च अदालतबाट किनारा लागेको हो ।

अदालतले श्रमिकको पक्षमा फैसला गरेको छ । अदालतले श्रमिकको पक्षमा फैसला गरेअनुसारको तलब दिन आफू तयार भएको उनले बताए । ‘तत्कालीन समयमा गलत गर्ने कर्मचारीलाई स्पष्टीकरण सोध्ने तयारी गर्दागर्दै आफैँ काम छोडेर हिडेका थिएँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘रामेश्वर होटलमा कुकको रूपमा काम गर्दै आएका थिए । काम खोज्दै आएका थिएँ । मैले काम दिए र २०५८ सालदेखि रत्ना होटलमा काम शुरु गरे ।’ गलत मनसायले सेवाग्राहीका लागि बनाएको खानामा समेत लापरबाही गरेको थापाको गुनासो छ । तरकारीमा कनसुत्ली भेटिएको, बासी मम ग्राहकलाई बाँडेको, चिल्सा परेको चामलको खाना पकाएका कारण स्पष्टीकरण सोध्ने तयारी गरिरहेको बेला रामेश्वरले होटल छाडेको थापा बताउँछन् ।

‘खराब आचरण गरेको कारणले मैले स्पष्टीकरण सोध्ने तयारी गरेका थिए,’ उनले भने, ‘एक्कासी उनीहरू आफै काम छोडेर हिँडे ।’ अहिले आएर मुद्दा मामिला गरेर मुद्दा जिते र पनि अदालतको आदेश मान्न आफूहरू तयार रहेको बताउदै उनले पारिश्रमिक भुक्तानी गर्ने बताए । ‘चार जना मजदुरले बिदा, बोनस र महङ्गी भक्तासहित काम नगरेको हिसाब जोडेर १ करोड रुपैयाँ पाउनुपर्ने बताउँदै आएका छन्,’ थापाले भने, ‘काम गरेको आधारमा कानूनले भेटेको रकम भुक्तानी गर्न आफू तयार छु ।’ होटल निर्देशक थापाले उनीहरूले गरेको कामको आधारमा ४ जनाले करिब २१ लाख रुपैयाँ पाउने देखिएको उनले बताए ।

काम गरेको कर्मचारीको कानून बमोजिमको पैसा दिन आफू तयार हुँदाहुँदै पनि श्रम तथा रोजगार कार्यालय विराटनगरले बैङ्क खाता रोक्का गरेर गलत गरेको उनले आरोप लगाए । ‘काम गरेको कर्मचारीको कानूनअनुसारको पैसा दिन्छु भनिरहेको छु,’ उनले भने, ‘अहिले आएर होटलको बैङ्क खाता रोक्का भयो । निजी क्षेत्रमा लगानी गर्ने व्यवसायको लागि श्रमले हेर्ने दृष्टिकोण फरक भयो ।’ विभिन्न बाहनामा श्रम कार्यालय विराटनगरले अनआवश्यक रूपमा बारम्बार दुःख दिने गरेको उनको आरोप छ ।