धरान/युवा व्यवसायी फिरोज अली र मोहम्मद साफिरले शनिबारदेखि धरान–२ रत्नरोडमा ‘ नेपाल यूनिफर्म हाउस’ सञ्चालनमा ल्याएका छन् ।

धरानका ९० प्रतिशत स्कुलका यूनिफर्महरू एकै थलोमा पाउने गरी यूनिफर्म हाउस सञ्चालनमा आएको हो । हाउसको नेपाल कपडा तथा सिलाइ व्यवसायी महासङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ र नोबेल टेक्सटाइलका रमेश गाडियाले उद्घाटन गरे । उद्घाटनपछि अध्यक्ष श्रेष्ठले विद्यार्थी तथा कर्मचारीको पोसाक एकै थलोमा पाउने गरी खुल्नु अभिभावक तथा आम उपभोक्ताका लागि सहज हुने बताए ।

हाउस ७५ लाख रुपैयाँको लगानीमा खुलेको हो । स्कुलको पोसाक, जुत्ता, मोजा, झोलादेखि सिलाइसम्मको व्यवस्था एकै ठाउँमा गरिएको छ । हाउसले एकैपटक करिब २५ जनालाई रोजगारीको सिर्जना गरेको सञ्चालकमध्येका एक अलीले बताए । हाउसले ‘गुणस्तरीयता, काम र मूल्य’ मा कुनै सम्झौता नगरेको दाबी गरेको छ । अभिभावकले यसअघि आफ्ना नानीका लागि पोसाक तथा स्कुलका सामग्री अलग–अलग पसलमा किन्नु पर्ने बाध्यता रहेको थियो ।

उक्त बाध्यता हटेको धरान–१५ की हिन्दू सम्बाहाम्फेले बताइन् । उनले एकै ठाउँमा सबै सामग्री किन्न पाउँदा खुसी लागेको बताइन् । धेरै उपभोक्ताले स्कुलका सामग्री एकैथलोमा पाउँदा खुसी व्यक्त गरेका थिए । अभिभावकको समस्यालाई बुझेर नै एकै थलोमा गुणस्तरीय सामग्री दिन लागिएको सञ्चालक मोहम्मद साफिरले जानकारी दिए । उनीहरूका अनुसार करिब अन्य पसलभन्दा ३० प्रतिशतसम्म कम मूल्यमा हाउसले सामग्री उपलब्ध गराउने गरेको छ । वीरगञ्जको नोबेल ब्राण्डका कपडाहरू राखिएका छन् ।