सन्तवीर लामा/ धनकुटा
धनकुटा नगरपालिकाले आ.व.०७५/०७६ मा सञ्चालन गरेको भौतिक पूर्वाधारका कार्यक्रमहरू मध्ये वडा नं.७ स्थित तमोर भ्याली सडक खण्डमा भइरहेको रिङरोड सडकको निर्माण कार्य गुणस्तरहीन भइरहेको पाइएको छ ।

धनकुटा न.पा. वडा नं.७ तमोर भ्याली सडक खण्डमा शहरी सडक निर्माण कार्य भइरहँदा मापदण्डविपरीत काम भइरहेको जनगुनासो स्थानीय उपभोक्ताहरूबाट नगरपालिकामा आएपछि उप–प्रमुख एवम् अनुगमन समितिकी संयोजक शकुन्तला बस्नेतले शुक्रबार स्थलगत सडक अनुगमन गर्दा गुणस्तरहीन काम भइरहेको फेला परेको हो । गुणस्तरहीन काम भइरहेको फेला परेपछि नगर उपप्रमुख बस्नेतले झण्डै २ सय मिटर सम्पन्न गरिसकेको काम आफैंले भत्काइदिएकी छन् ।

dhankuta1 उपप्रमुख बस्नेतले जनताले तिरेको करले नगरको विकास निर्माण भइरहेको बताइन् । विकास निर्माणको काममा केकसरी भइरहेको छ भनेर उपभोक्ताहरू जागरुक हुनु पर्ने बताइन् । बस्नेतले आफ्नो टोलमा विकासको काम हुँदा उपभोक्ताहरूले सचेत भएर कामको गुणस्तरमा चित्त नबुझेर चनाखो भएर खबर गरेकामा धन्यवादसमेत दिइन् । बस्नेतले भनिन् ‘देश र जनताका लागि केही गर्छौं भनेर आएका छौं, काम गर्दा जनतालाई चित्त बुझाउन सकिएन भने कुनै अर्थ रहँदैन कोही रिसाउलान् कि भनेर चुप लागेर बस्न सकिँदैन ।’

नगरपालिकाले वडा नं.७ र ५ स्थित मदन चोकदेखि विष्णुस्मृति चोक रिङरोड हुँदै तमोर भ्याली, सब्जी बजार, माथिल्लो कोप्चे तल्लो कोप्चे सडक मर्मत गर्नको लागि सल्टर कन्स्ट्रक्सन, सोल्मा तेह्रथुमलाई ५३ लाख ९० हजार ९ सय ६६ रुपैयाँ ठेक्का दिएको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रको वडा नं.५ र ७ मा भत्किएका कालपत्रे सडक र ड्रेन निर्माणका लागि कुल लागत ९१ लाख ५१ हजार ९ सय १३ रुपैयाँ बराबरको ठेक्का गएको माघ ६ गते आह्वान गरेको थियो ।

dhankuta2 तर ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्दा झण्डै ४० प्रतिशत बढी ‘बिलो’मा सल्टर कन्ट्रक्सन तेह्रथुमले भ्याट बाहेक ५३ लाख ९० हजार ९ सय ६६ रुपैयाँमा ठेक्का सम्झौता गरी हाल निर्माण कार्य गरिहेको छ ।

निर्माण कम्पनीले ढल तथा नाली निर्माण गर्दा न्यूनतम मापदण्ड नै नपु¥याई निर्माण कार्य झारो टार्ने गरी गरिरहेको पाइएपछि नगर उप–प्रमुख शकुन्तला बस्नेतको अगुवाइमा गएको अनुगमन टोलीले करिब २ सय मिटर निर्माण सम्पन्न गरिएको नाली तथा ढल भत्काइ दिएको छ ।

अनुगमनको क्रममा देउराली टोलबस्ती सङ्गठनका अध्यक्ष इन्द्रमणि मिश्रले नालीको फाउण्डेशन मापदण्डअनुरूप नगरिएको, ढलको जमिनको भागमा सोलिङ नगरी ढलाइ गरिएको, नालीको भित्तामा मेसिनरी वाल नलगाई माटो कटिङ गरेको भित्तामै सिमेण्टले पोतिएको र मेसिनरी वालमा मापदण्डअनुसारको सिमेण्ट, बालुवाको रेसियो नमिलाएको र किउरिङसमेत नियमित नगरेको बताए ।

नगरपालिकाको योजना शाखाका प्रमुख एवम् इञ्जिनियर मिङ्मा दोर्जे शेर्पाले तोकिएको मापदण्ड नपु¥याई काम गरिएको भेटिएकाले भत्काउनु परेको बताए । निर्माण व्यावसायी आफैं जिम्मेवार भएर काम नलगाएको कारण सडक निर्माण कार्य गुणस्तरहीन भएको इञ्जिनियर शेर्पाको भनाइ थियो । उनले अनुगमनका लागि नगरपालिकाबाट साइड हेर्ने प्राविधिकसँगै टोल बस्ती सङ्गठनलाई पनि अनुगमनका लागि लिखित रूपमा पत्र काटेर जिम्मेवारी दिने बताए ।

dhankuta3 साथै, शेर्पाले स्थानीय उपभोक्ताहरूलाई मात्र होइन प्राविधिकले भनेबमोजिम सडकको मापदण्डअनुरूप काम गर्न निर्माण कम्पनीका प्रतिनिधि आशिष राईलाई निर्देशन दिए । उनले योजनाको लागत स्टेमेट अनुसार मापदण्डभित्र रहेर निर्माण कार्य पूरा नगरेसम्म नगरपालिकाले भुक्तानी नदिने शेर्पाले सुझाएका छन् ।

साथै, उनले दक्ष, सिपालु मिस्त्री र ज्यामीलाई काम लगाउन पनि भनेका छन् । निर्माण कम्पनीका प्रतिनिधि राईले भने आफु नभएको बेला कामदारहरूले गुण्स्तरहीन काम गरेको स्वीकारेका छन् । उनले फेरि मापदण्डअनुरूपको काम गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
यता वडा नं.७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरियालाई गुणस्तरहीन, सडक मापदण्डविपरीत निर्माणको काम भइरहेको बारे जिज्ञासा राख्दा उनले आफूले अनुगमन गरिरहेको जानकारी दिए ।

dhankuta4 स्थानीयले नगरपालिकमा उजुरी गरेर नगर उपप्रमुखले २ सय मिटर सडक भत्काइसकेको ब्लाष्टकर्मीले जानकारी दिँदा वडाध्यक्षले आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

नगर उप–प्रमुख शकुन्तला बस्नेतले भने वडाध्यक्षहरूलाई वडा कार्यालय मात्र रुङ्ने नभएर, विकास निर्माणको काम आफ्नो वडामा के कसरी भइरहेको छ ? स्थलगत अनुगमन गरी तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको बताइन् ।