धनकुटा/धनकुटाको प्रतिनिधि मण्डलले सोमबार पर्यटनमन्त्री जीवनबहादुर शाहीसँग उनकै कार्यकक्षमा गएर बेलहारा डाँडामा विमानस्थल निर्माणका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिदिन माग गरेको छ ।

धनकुटाका नगरपालिकाको बेलहारा डाँडामा विमानस्थल निर्माणका लागि अन्तिम सर्वेक्षण भइरहेकोले यसै वर्षभित्र विमानस्थल निर्माण गर्न बजेट माग गरिएको हो । प्रतिनिधि मण्डलमा सांसद् मनोहरनारायण श्रेष्ठ, पूर्वसांसद् लीला सुब्बा, काङ्ग्रेसका जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, धनकुटा नगरका पूर्वसभापति पुरेन्द्रलाल श्रेष्ठ, नेविसङ्घका जिल्ला अध्यक्ष जमुना कुबेर संलग्न थिए ।

त्यस क्रममा मन्त्री शाहीले बेलहारा डाँडा विमानस्थलका लागि उपयुक्त भएकोले बजेट विनियोजन गर्ने बताएको प्रतिनिधि मण्डलमा सहभागी एक नेताले बताए ।सांसद् श्रेष्ठको नेतृत्वमा रहेको टोलीले सोमबार नै सिँचाइमन्त्री दिपक गिरी र सचिव गजेन्द्र ठाकुरसँग भेट गरी जिल्लाको सिँचाइ योजना र पहिरो नियन्त्रणबारे छलफल गरेको थियो ।

यस्तै खानेपानी तथा सरसफाइ मन्त्री दिपक खड्कासँग पनि भेटघाट गरी जिल्लाका विभिन्न क्षेत्रमा खानेपानी योजनाको निर्माण तथा मर्मतका लागि टोलीले माग गरेको बताइएको छ ।