manabधनकुटा/जिल्लामा ११ महिनाको अवधीमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका ५२ वटा घटना घटेको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ का लागि तयार पारिएको वार्षिक प्रतिवेदन पूर्वसमीक्षा कार्यक्रम आयोजना गरी दिएको जानकारी अनुसार सन् २०१६ को जनवरीदेखि नोभेम्बर महिनासम्मको अवधीमा जिल्लामा ५२ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेका छन् ।

उक्त घटनामध्ये सबैभन्दा बढी महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन अन्तर्गत ४७ वटा घटना छन् । जसमा एक महिलामाथि दुव्र्यवहार र बाँकी घरेलु हिंसाका घटना रहेको इन्सेक प्रतिनिधि सन्तोष रुचालले बताए । यसैगरी नागरिक तथा राजनीतिक अधिकार अन्तर्गत सम्मानितरुपमा बाँच्न पाउने अधिकार उल्लङ्घनका घटना तीनवटा छन् ।उक्त घटनामा दुई जनाको गैरराज्य पक्षद्वारा हत्या र एउटा घटनामा राज्यपक्षद्वारा दुई सर्वसाधारण नागरिकमाथि कुटपिट भएको पाइएको छ । यस्तै बालअधिकार अन्तर्गत दुई बालिकामाथि बलात्कार भएको छ ।

जिल्लामा राज्य पक्षभन्दा गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घनमा बढी संलग्नता रहेको पाइएको छ । सन् २०१५ मबा जिल्लामा ६७ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको इन्सेक धनकुटाले जनाएको छ । जिल्ल्लामा गम्भीर प्रकृतिका घटना कम मात्रामा भएको भएपनि महिलामाथि हुने घरेलु हिंसाका घटनाहरु विगतका वर्षहरुमा भैंm यथावत रहेको इन्सेक प्रतिनिधि रुचालले बताए । ११ महिनाको अवधीमा ५२ वटा घटना भएको र डिसेम्बर घटना विवरण थप गर्दा केही सङ्ख्या बढी हुनसक्ने पनि उनले बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्लामा भएका घटना मात्र नभएर गाउँगाउँमा भएका मानवअधिकार उल्लङ्घनका घटनालाई प्रतिवेदनमा समेट्न सुझाव दिए ।

मानवअधिकार उल्लङ्घनका घटनाको विवरण सखकलनका क्रममा घटना हुनुको कारणलाई समेत विश्लेषण गर्नुपर्ने बताउँदै प्रजिअ उप्रेतीले प्रहरी प्रशासन पीडितको पक्षमा सधैं रहने र पीडितलाई न्याय दिने कुरामा सधै सम्वेदनशील रहेको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा गैरराज्य पक्षबाट बढी मात्रामा मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेख हेर्दा बढी नगर क्षेत्रको पाइएकोले मानवअधिकार उल्लङ्घनका घटना रोक्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औंल्याएका छन् ।