इटहरी / सुनसरीको व्यस्त शहर इटहरीमा दुई वर्षयता २ सयभन्दा बढी होटल थपिएका छन् । यस अवधिमा होटल व्यवसायमा ५० करोडभन्दा बढी लगानी भएको छ । स्वदेशी, विदेशी पर्यटक यही मार्ग भएर पूर्वी नेपालका विभिन्न धाम तथा पर्यटकीय स्थल जाने क्रम बढेसँगै ठूलो लगानीमा नयाँ होटल र लज खुल्ने क्रम बढेको छ ।
इटहरीमा सबैभन्दा बढी लगानी ८० करोड रुपैयाँमा ‘गरिमा’ होटल व्यापारी बलराम आचार्य, भीम पौडेललगायतको लगानीमा निर्माण भइरहेको छ । तारे स्तरको संरचना बनाइए पनि कति तारे हो भन्ने एकिन भने भएको छैन । इटहरीमा करिब १५ सय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ इटहरीले जनाएको छ । पुरानासँगै नयाँ होटलहरू थपिने क्रम बढेको छ ।
इटहरीमा पछिल्लो समय ६ नयाँ होटल खुलेका छन् । बजार क्षेत्रमा ठूलो लगानीमा त्रियुगा होटल, मझेरी, इम्पिरियल, बरण्डालगायतका होटल सञ्चालनमा आएका छन् । विदेशी तथा स्वदेशी पर्यकटकलाई लक्षित गरी होटल र लज थपिनु र पुराना होटल पनि लगानी थपेर आधुनिक बनाइनुले इटहरीको व्यस्तता र चहलपहल अझै बढ्ने देखिन्छ । इटहरीमा साना–ठूला गरी झण्डै एक हजार पाँच सय होटल छन् तर पनि होटल व्यवसायी सङ्घमा तीन सयको सङ्ख्यामा मात्र दर्ता भएको सङ्घ इटहरीका निवर्तमान अध्यक्ष अनुरोध थापा बताउँछन् ।
इटहरीको मुख्य बजार क्षेत्रका अधिकांश घरमा होटल छन् । बढ्दो जनसङ्ख्यासँगै इटहरीमा होटल व्यवसायमा लगानी बढेको छ । होटल त्रियुगाका सञ्चालक नेत्र गिरी भन्छन्, ‘होटलहरू गुणस्तरीय भए पर्यटकहरू बढ्दै जानेछन्, प्रायः होटल खाली छैनन् ।’ पर्यटकहरूको ट्राञ्जिट पोइन्टका रूपमा इटहरी विकास भइरहेको उनी बताउँछन् ।
धेरै होटल १० लाखदेखि १ करोड रुपैयाँसम्म लगानीमा खुलेका छन् । जेको माग बढ्छ, त्यसैमा लगानी पनि बढ्नु स्वाभाविक भएको होटल व्यवसायी इम्पिरियलका सञ्चालक गोपाल गिरीले बताउँछन् । ‘ग्राहकहरू पछिल्लो समय सुविधाका लागि पैसा तिर्न दुविधा गर्न छाडेकाले धेरैले गुणस्तरीय सेवा दिनका लागि लगानी बढाएका छन्’ उनले भने । इटहरी तीव्र शहरीकरण भइरहेको ठाउँ हो । यातायातको हिसाबले त इटहरी पूर्वी नेपालको केन्द्र हो । पूर्वको एउटा शहरबाट अर्को शहरमा पुग्न इटहरी आइपुग्नै पर्ने हुन्छ । मिश्रित समुदायको बसोबास रहेको इटहरीमा देश–परदेशका मानिसहरूको आउजाउ भइरहन्छ ।
पाथीभरा होटल केही वर्ष अघि करिब ३ करोडको लगानीमा सञ्चालनमा आएको थियो । इटहरीमै पहिलो पटक बारको सुविधासहितको आधुनिक होटलका रूपमा इटहरीकै ईश्वर विष्ट र किरण बुढाथोकीले यो होटल सञ्चालनमा ल्याएका थिए । प्रिमियर होटल स्कुल इटहरीमा यसै वर्ष खुलेको हो । होटल म्यानेजमेण्टको क्षेत्रमा देश–विदेशको अनुभव लिएका सुनिल भुसाल नेतृत्वको टिमले इटहरीको धरानरोडमा शुरु गरेको यो ‘होटल स्कुल’ पनि छोटो समयमै इटहरीका चल्तीका र गन्तीका होटलमा दरिन पुगेको छ ।
प्रदेश–१ को इटहरी आसपासका क्षेत्रहश पर्यटकीय दृष्टिले विकसित हुँदै गर्दा र धरान, चतरा, विराटनगरलगायत पूर्वका विभिन्न पर्यटकीय, धार्मिक, ऐतिहासिक महत्व बोकेका ठाउँमा आउने पर्यटकको सुविधाका लागि होटल सञ्चालनमा ल्याएइको बताउँछन् होटल व्यवसायी सङ्घ प्रदेश–१ का संयोजकसमेत रहेका मडिन्द्र कट्वाल । उनी भन्छन्, ‘इटहरीको विकासमा समेत होटल व्यवसायले महत्वपूर्ण योगदान पु¥याउने विश्वास छ ।’