यासोक (पाचथर) / कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा मन्त्रीबाट खानेपानी योजनाको उद्घाटन हुने भएपछि अघिल्लो दिन नै बजार सरसफाइ गरियो । धुलो उड्न नदिन बजारमा पानीले भिजाइयो ।

एकैछिन भए पनि बजार सफा र सुन्दर देखियो । तर त्यसको केही दिनमै धुलोको कुहिरिमण्डलले बजार छोपिएको छ ।
स्थानीयलाई धुलोको उही पीडा र उस्तै चिन्ता पुनः शुरु भएको छ । यो क्रम निरन्तर बढ्दै गएपछि उद्योग वाणिज्य सङ्घ शाखा यासोकले प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई ज्ञापन–पत्र बुझाएको छ ।

तत्काल धुलोको व्यवस्थापन गर्न भन्दै शाखाले मन्त्रीलाई ज्ञापनपत्र त बुझायो तर अपेक्षा गरे अनुसारको सहयोग पाउन सकेन । यासोक शाखाका अध्यक्ष मेघराज निरौलाले मन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै धुलोबाट जोगाउन आग्रह गरे । बजारमा व्यवसाय सञ्चालन गर्न समस्या भएकाले मन्त्रीलाई ज्ञापनपत्र बुझाएको निरौलाले बताए । गाउँपालिकाले बजारको भौतिक पूर्वाधारमा लाखौं रुपैयाँ खर्च गरे पनि धुलो नियन्त्रण हुन नसक्दा दैनिक जनजीवन कष्ठकर भएको भन्दै मन्त्रीको ध्यानाकर्षण शाखाले गरेको हो ।

जवाफमा प्रदेश–१ का आर्थिक योजना मन्त्री इन्द्रबहादुर आङ्बोले धुलो नियन्त्रण गर्न बजेट विनियोजन गर्न केही प्राविधिक कठिनाइ भएको बताए । बजारको पुरानो समस्यालाई आफूले नजिकबाट नियालेको भन्दै रकम विनियोजनमा प्राविधिक त्रृटि भएको स्वीकार गरे । उनले आगामी आर्थिक वर्षमा बजारको पूर्वाधारको विषयमा काम गर्ने भन्दै ढुक्क हुन स्थानीयलाई आग्रह गरे ।

बजारको धुलो नियन्त्रण गर्न बजारको आसपासको क्षेत्रमा कालोपत्रे गर्नु पर्ने हुन्छ । तर स्थानीय तहले बजारको नाली व्यवस्थापन र सडक चौडा गर्न बजेट विनियोजन गरी काम गर्दै आएको छ । बजारको सबै स्थानमा नयाँ संरचना निर्माण हुँदै आएकाले हावा चल्न साथ बजार धुलाम्मे हुने गरेको छ । बजारको धुलोबाट बच्न चिकित्सकले विभिन्न सावधानी अपनाउन बजारवासीलाई सुझाव दिँदै आएका छन् ।\

 

dhulo-image