उर्लाबारी / सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय विराटनगरको आर्थिक सहायतामा उर्लाबारीमा नमूना बसपार्क निर्माण हुने भएको छ ।
बसपार्क निर्माण शुरु भएपछि नगरको विकासको स्वरूप परिवर्तन हुने विश्वास गरिएको छ ।
दमक–४ निवासी तेजेन्द्र कार्की, देवेन्द्र कार्की तथा उर्लाबारीका रणबहादुर थापा, लक्ष्मण बस्नेत र विनोद न्यौपानेले उर्लाबारी–६ मा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको १ बिघा १३ कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण भएको हो । आर्थिक वर्ष ०७२÷७३ देखि निर्माण प्रक्रिया शुरु भएको एक सय सवारी पार्किङको क्षमता हुने बस पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने योजनाअनुसार कार्य भएको वडाध्यक्ष चिन्तामणि पौडेलले बताए । आगामी आर्थिक वर्षभित्रमा थप पूर्वाधार निर्माणका लागि बजेट विनियोजन आवश्यक भएको बताइएको छ ।
वडाध्यक्ष पौडेलले खानेपानी, विद्युत लाइन, टर्मिनल भवन, सुरक्षा चेकपोस्ट भवन, वान–वे बाइपास सडक, बसपार्कको ग्राउण्ड ढलाइलगायतका निर्माण कार्य भए पूर्व क्षेत्रकै नमूना बसपार्क हुने बताएका छन् । बसपार्क निर्माणका लागि इकाई कार्यालय विराटनगरले उपभोक्ता समितिमार्फत् निकासा गरेको ४० लाख रुपैया“ले कार्य प्रारम्भ भएको बताए । तत्कालीन निर्माण समितिका अध्यक्ष अम्बिका बोहोरा छेत्रीले ४० लाख रुपैया“ले ८० लाख बराबरको कार्य पूरा गरी डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको बताएका छन् । बसपार्कको कार्य प्रारम्भपश्चात् इकाई कार्यालयमार्फत् आर्थिक वर्ष ०७४÷७५ मा २ करोड ८० लाख रुपैया“मा निर्माण ठेक्का पाएको बिरुवा अनीको जेभी निर्माण कम्पनीले सम्झौताअनुरूपको कार्य सम्पन्न गरेको इञ्जिनियर इन्द्र साहले बताए ।
उर्लाबारीको पूर्व बसस्टेण्डदेखि ४ सय मिटर उत्तरमा रहेको बसपार्कको निर्माणले मावा खोलाको तटबन्धनमा समेत सघाउ पुग्ने बताइएको छ । खोलाबाट बस्ती सुरक्षित र बजार नजिक भएकाले जोखिम कम हुने स्थानीय अगुवा निर्माण व्यवसायी नेत्रप्रसाद घिमिरे बताउँछन् । इकाई कार्यालयका इञ्जिनियर राजकुमार मिश्रले नगरपालिकाको समन्वयमा कार्य भइरहेको बताउँदै चालु वर्षमा पनि संशोधनसहितको थप १० करोडसम्म बजेट खर्चिने बताउँदै पूर्वक्षेत्रको नमूना बसपार्क हुने बताएका छन् ।
यसैगरी उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समुन्त र समृद्ध नगर निर्माण गर्ने कार्यअनुरूप बसपार्कलगायतका अन्य ठूला विकास निर्माणका कार्यसमेत भइरहेको बताए । उनले नगरपालिकाको पहलमा आगामी वर्षभित्रमा सो बसपार्कको निर्माण पूरा हुने लक्ष्य रहेको बताए । मेयर फागोले बसपार्कको निर्माणले राजमार्ग केन्द्रित व्यवसाय पनि विकेन्द्रीकृत हुने हुँदा पछाडि परेका स्थान र समुदायको विकासमा समेत मद्दत पुग्ने बताए । बसपार्कको अभावमा उर्लाबारी राजमार्ग किनारामा नै बस पार्किङ गर्दा दुर्घटना र बजारको सुन्दरतामा प्रभाव पारेको उर्लाबारी उद्योग बाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारीले बताए । उनले नया“ बसपार्क निर्माणले समुन्नत उर्लाबारीको पहिचान कायम हुने तथा व्यवसायीको सङ्ख्या वृद्धि हुने विश्वास व्यक्त गरे ।