काँकडभिट्टा । मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा आइतवार देखि सुरु भएको छ ।

नम्बर १४ को भवनमा १ नम्बर प्रदेश सदस्य श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकीले सयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेको थिए । नगर सभाको पहिलो दिन मेचीनगर नगरपालिकाको न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको ऐन, बारुणयन्त्र तथा नगर प्रहरी सेवा व्यवस्थापन गर्न बनेको ऐन, प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन, नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन, सहकारी ऐन २०७५, नगर कार्यपालिकाको कर्मचारी व्यवस्थापन ऐन २०७५ र निर्णय वा आदेश र अधिकार पत्र प्रमाणीकरण ऐन २०७५ गरी कुल सातवटा विधेयकहरु प्रस्तुत भएको नगरपालिकाका कार्यपालिका सदस्य टिकराम मग्रातीले बताए ।

सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाई, वन, वातावरण, विपद् तथा भूमि व्यवस्थापन समितिका संयोजक टीकाराम सार्की, आर्थिक बिकास समिति संयोजक सुवेशकुमार पनेरु तथा विधेयक समितिका संयोजक कुश्मीकुमारी चौधरीले अलग अलग विधेयक प्रस्तुत गरेको मग्रातीले बताए ।

नगरप्रमुख विमल आचार्यका अध्यक्षतामा भएको तेस्रो नगरसभामा संम्बन्धित विधेयक समितिको संयोजकहरुले प्रस्तुत गरेको विधेयक उपर २ गतेसम्ममा सभासदहरुले आ—आफ्ना धारणा राख्न पाउने व्यवस्था गरिएको छ ।

त्यसका लागि सचिवालयमा नाम दर्ता गर्नुपर्ने सभाध्यक्ष विमल आचार्यले जानकारी गराउनु भयो । यसका लागि नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीलाई सम्पर्क व्यक्तिका रुपमा तोकिएको छ ।

नगरपालिकाका सामुदायिक विकास अधिकृत वस्तीले सञ्चालन गर्नु भएको कार्यक्रममा उपप्रमुख मिना पोखरेल उप्रेतीले स्वागत सगै विधेयक बारेमा भनाइ राखेकी थिइन ।

उद्घाटन सत्रमा प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली , गोपाल चन्द्र बुडाथोकी ,राधा थापाले कार्यक्रमलाई शुभकामना दिइका थिए । नगरसभाका बक्ताहरुले कुनै पनि योजना शक्ति र आस्था विचारले भन्दा पनि प्राथमिकताका आधारमा निर्माण गर्नुपर्नेमा सबैको भनाइ थियो ।

दिनमा मेचीनगरलाई कस्तो नगरका रुपमा निर्माण गर्ने त्यसको प्रोफायल तयार गरेर नगरको विकासका लागि सवै एकजुट हुनुपर्ने सबैको धारणा रहेको मंग्रातीले बताए ।