धरान/ सामुदायिक स्वास्थ्य सेवामा गुणस्तरीयता प्रदान गर्ने उद्देश्यले सुनसरी टेक्निकल कलेजले मङ्गलबार एक दिवसीय वर्कसप गरेको छ ।
धरानको गोर्खा डिपार्टमेन्टको हलमा भएको वर्कसपमा मोरङ, झापा र सुनसरीका करिब १५० सहभागी रहेको सुनसरी टेक्निकल कलेजका प्रमुख अमितकुमार गुप्ताले बताए । वर्कसपमा कतार विश्वविद्यालय दोहाका डा. मोहम्मद इजाम, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष केशवध्वज जोशी, औषधि व्यवस्था विभागका सिनियर फर्मासिस्ट सन्तोष केसी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फर्मास्युटिकल्स सर्भिसका प्रमुख डा. कविर आलमले सहजीकरण गरे ।
त्यस्तै आयोजकका तर्फबाट प्राचार्य गुप्ता, कोगेन्ट हेल्थ प्रालि काठमाडौंका सिनियर फर्मासिस्ट सफिर रेहमानले पनि सहजीकरण गरेका थिए । कार्यक्रममा संरक्षकका रूपमा कलेज सञ्चालक लेखिराज सुब्बा रहेका थिए ।
सामुदायिक फार्मेसीमा बिदेशको अभ्यास के छ भन्ने विषयमा दोहाका डा. इजामले जानकारी गराए । स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने प्रमुख गुप्ताले बताए । सुरक्षित र प्रभावकारी तरिकाले औषधि प्रयोग गर्नमा सामुदायिक फार्मेसीको योगदान कस्तो हुनुपर्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।
त्यसमा नेपाल र विदेशको अभ्यासहरूबारे पनि चर्चा गरिएको थियो । ‘इथिक्सले के भन्छ । नेपालको प्राक्टिस के छ, ग्लोबल प्राक्टिस के छ ? भन्ने विषयमा चर्चा गरिएको हो ।’ प्रमुख गुप्ताले भने ।