भोजपुर/ कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालले फलफूल तथा बिरुवा दिने भन्दै जिल्लाका २५ सय कृषकको लाखौं रकम उठाएर सम्पर्कविहीन भएको छ ।
 
कृषक तथा वनसँग कार्यक्रम गर्ने शाखा कार्यालयको रूपमा दर्ता भएको उक्त संस्थाले कृषकसँग ३ सयका दरले ७ लाख पचास हजार रकम सङ्कलन गरेर सम्पर्कविहीन भएको हो । एग्रिकल्चरले गत भदौ ५ गतेबाट नियुक्ति दिएका कर्मचारीलाई तलब नदिएपछि कर्मचारीको समेत बिचल्ली भएको छ । कर्मचारीहरूले गाउँ–गाउँ गएर विभिन्न जातका फलफूल तथा रुखका बिरुवा दिने शर्तमा प्रतिकृषक ३ सयका दरले रकम सङ्कलन गरेका थिए ।
 
रकम सङ्कलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरू फरार भएको कर्मचारी उत्तरराज खड्काले बताए । अर्का कर्मचारी प्रेमकुमारी खड्काले भनिन्, ‘विभिन्न जातका फलफूल तथा रुखका बिरुवा दिने भनेपछि कृषकले पनि तीनसय दिन खासै गाह्रो मानेनन्, अहिले संस्था नै भागेपछि मुख देखाउनसमेत लाजमर्दो भएको छ ।’ संस्थाले भोजपुर नगरपालिका–७ सातधारामा कार्यालय स्थापना गरेको थियो । कार्यालय स्थापना गरेपछि कर्मचारी भर्ना खुलाएर रकम सङ्कलन गरेको संस्था अहिले बन्द रहेको छ ।
 
संस्थाले अग्र्यानिक खेती, वन संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, वन विकाससम्बन्धी धारणा विकास, उन्नत जातका बीउविजन उत्पादन, बजार व्यवस्थापनसम्बन्धी सहजीकरण जस्ता विभिन्न कार्यक्रमहरूसमेत गर्ने बताउँदै काममा पठाएको कर्मचारीहरूले बताएका छन् । कर्मचारीले सङ्कलन गरेको रकम समेत लिएर फरार भएपछि पीडित कर्मचारीहरूले कारबाहीको माग गर्दै जिल्ला समन्वय समितिमा निवेदन दिएका छन् । कर्मचारीहरू गङ्गाकुमार प्रधान, सन्तोष बस्नेत, मनिराज तामाङ, प्रेमकुमारी खड्का र उत्तरराज खड्काले निवेदन दिएका हुन् ।
 
निवेदनमा ७ महिनाको तलबमध्ये २ महिनाको मात्र तलब पाएको र बाँकी तलब नपाएको उल्लेख गरिएको छ । उनीहरूले संस्थाका अध्यक्ष लालकर्ण देवकोटा, प्रदेश नम्बर १ का संयोजक एकम शर्मा, भोजपुरकी शाखा प्रबन्धक पार्वती मल्ललगायतमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् । भाडामा कोठा लिएर कार्यालय सञ्चालन गरिरहेको संस्था गत माघ १५ गतेदेखि बन्द भएको छ । कार्यालयमा बस्दै आएकी शाखा प्रबन्धक पार्वती मल्लसमेत इटहरी जानु छ भनेर हिँडेपछि नफर्केको घरधनी कोपिला खड्काले बताइन् । एक वर्षको घरभाडा लिएको भए पनि एक महिनादेखि संस्था सञ्चालक सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् ।
 
यता शाखा प्रबन्धक मल्लले भने रकम उठाएको स्वीकार गर्दै संस्थाका अध्यक्षसहितको टिमले बेवास्ता गरेकाले आफू पनि कार्यालय बन्द गरी हिँडेको बताइन् । उनले भनिन्, ‘धेरै पटक संस्थासँग समस्या समाधान गर्न माग गरे तर संस्थाका सबै पदाधिकारीहरूले चासो नदिई सम्पर्कविहीन भएपछि मैले पनि भोजपुर छोडेको हुँ, कृषकका लागि कार्यक्रम गर्ने संस्थाका पदाधिकारी नै सम्पर्कविहीन भएपछि म पनि कार्यालय बन्द गरी हिँडे ।’ शाखा प्रबन्धक मल्लका अनुसार कर्णाली एग्रिकल्चरको समस्या भोजपुर, विराटनगरलगायत पश्चिमका जिल्लाहरूमा पनि रहेको छ । उनले संस्थाका अध्यक्ष देवकोटालाई फोन गर्दा सम्पर्क हुन नसकेको बताइन् ।
 
एग्रिकल्चरले ठगी गरेको निवेदन परेपछि जिल्ला समन्वय समितिमा समेत छलफल भएका समन्वय उपप्रमुख अनिशा खड्काले बताइन् । छलफलमा ठगी गरेको भनिएको संस्थाको कागजातसहित बोलाउने निर्णय भएको थियो । प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको छलफलमा जिल्लामा सञ्चालित उस्तै प्रकृतिको एसोसिएसन अफ एग्रिकल्चर नेपाल प्रालिको शाखा कार्यालयको काम पनि त्यस्तै देखिएकाले सो संस्थामाथि पनि छानबिन गर्ने निर्णय भएको उपप्रमुख खड्काले प्रष्ट पारिन् ।
 
कृषक तथा कर्मचारीलाई ठगी गर्ने संस्थालाई कारबाही अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन् । कारबाहीका लागि ठगी गर्ने संस्थाका कर्मचारीहरूको कागजातसमेत मगाइएको प्रजिअ पौडेलले जानकारी दिइन् ।