मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका – ९ स्थित मधुमल्ला बजारमा पुन: राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालयको शनिबार उद्घाटन गरिएको छ ।

शाखा कार्यालयको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मिक्लाजुङमा वाणिज्य बैँकको यो २१७ औँ शाखा हो । यस अघि मधुमल्लाम भएको बाणिज्य बैंकको साखा द्वन्दकालिन अवस्थामा २०५६ सालमा विस्थापित भएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी डा. खरेलले रोजगारी सिर्जनालाई सरकारको सफलताका रुपमा लिएर अघि बढिरहेको बताए ।

सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन पनि गाउँगाउँमा वाणिज्य बैँक स्थापना गरिएको उनले बताए । सरकारको योजनालाई सफल बनाउन वाणिज्य बैँकको भूमिका महत्वपुर्ण हुने बताउँदै उनले सरकारले अघि सारेको सहुलियतपुर्ण कर्जा कार्यक्रमलाई सरल र सहज ढंगबाट लागु गर्न आग्रह गरे । बैँकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारको शतप्रतिशत लगानी रहेको वाणिज्य बैँक जनताको बैँक भएको बताए ।

यो बैँकको मुनाफा सरकारको ढुकुटीमा जाने र पुन : जनताकै निमित्त खर्च हुने हुँदा वाणिज्य बैँक जनताको बैँक भएको बताए । सो अवसरमा स्थानीय बेदमाया अर्याल र गणेश दर्जीलाई सहुलियतपुर्ण ऋण प्रदान गरिएको थियो ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, मिक्लाजुङ व्यापार प्रबन्ध समितिका अध्यक्ष महाविर पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता राजेन्द्रप्रसाद घिमिरे र नेपाली काँग्रेसका स्थानीय नेता मानबहादुर राईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय वाणिज्य बैँक प्रदेश नं. १ कार्यालय विराटनगरका प्रमुख रिसप भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।