भद्रपुर/ पूर्वको मेची अञ्चल अस्पताल भद्रपुर परिसरबाट अस्पताल प्रशासनले पार्किङ् शुल्क असुल्न थालेको छ । निजी अस्पतालको चपेटामा परेको अस्पताल सुविधासम्पन्न भएपछि पछिल्लो समय बिरामीको चाप बढेको मौका पारेर प्रशासनले शुल्क उठाउन थालेको हो ।

आर्थिक अवस्था कमजोर भएका गरिब व्यक्तिमात्र उपचारका लागि आइपुग्ने एकमात्र सरकारी अस्पतालले नेपालका कुनै पनि अस्पतालमै नभएको पार्किङ शुल्क असुल्न थालेपछि नेपाली काङ्ग्रेस झापा क्षेत्र नं ३ ले आपत्ति जनाउँदै रकम असुली बन्द गर्न अस्पताल व्यवस्थापन समितिलाई ज्ञापन–पत्र बुझाएपछि घटना सार्वजनिक भएको छ ।

सङ्घ मातहतमा रहेको अस्पताल प्रदेश सरकारको जिम्मामा आएपछि जिल्ला समन्वय समिति प्रमुख व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा आए लगत्तै बसेको सञ्चालन समितिको निर्णयले अस्पताल हाताबाट सवारी शुल्क असुल्ने निर्णय भएको भन्दै ठेक्का स्वीकृतिविनै केही व्यक्तिले पार्किङ शुल्क असुल्न थालेपछि रकम असुली बन्दको माग राखी मङ्गलबार ज्ञापन–पत्र बुझाइएको हो । क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा भद्रपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्की, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा (मनोज), झापा जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सचिव गायत्रीप्रसाद भट्टराईलगायतको टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरमार्फत् अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापन–पत्र बुझाएको छ ।

सरकारी अस्पताललाई जनमैत्री सेवा केन्द्र बनाउन राज्य लाग्नु पर्नेमा गरिबमाथि विभिन्न बाहनामा करको भारी बोकाउन लागेको भन्दै अविलम्ब शुल्क हटाउन विज्ञप्तिमा माग गरेको छ । सरकारी अस्पतालले दिने सेवा सुविधा सन्तोषजनक नभएको गुनासो बढिरहेकोमा पार्किङ शुल्कले अझ विवाद बढाउने र सरकारी अस्पतालप्रति नकारात्मक सोच बढ्ने भन्दै विज्ञप्तिमा दुः ख प्रकट गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले अस्पतल परिसरमा भाडाका गाडी दिनभर राखिदिने अवस्थाले पार्किङ समस्या बढेको भन्दै शुल्कको अवधारणाले भिड घटाउन सहयोग गर्ने सोचले गरिएको बताए । उनले सवारीका साधन चोरी हुने क्रम बढेकाले पार्किङ शुल्क लिन थालेपछि चोरी अन्त्य हुने विश्वास राखिएको जानकारी दिए । प्रमुख ठाकुरले पार्किङ शुल्कका लागि टेण्डरको प्रकृया पूरा गरे पनि शुल्क उठाउन कसैलाई पनि अनुमति नदिएको जानकारी दिए । उनले शुल्कका विषयमा विवाद बढे तत्काल कार्यान्वयन नहुने समेत प्रष्ट पारे ।

वडामा रहेको अञ्चल अस्पतालका कुनै पनि गतिविधिमा आफूलाई जानकारी नदिँइदा समस्या समाधानमा स्थानीय सरकारको उपस्थिति हुन नसकेको ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा (मनोज) ले बताए । सङ्घबाट प्रदेश सरकारको जिम्मामा आएको अञ्चल अस्पतालको नेतृत्व केही समयका लागि जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेलमा आएको छ भने सदस्यमा स्थानीय सरकारको तर्फबाट भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, जिल्ला प्रशासन, प्रहरी र जनस्वास्थ्यका प्रतिनिधि रहने व्यवस्था छ ।

सोही समितिले अस्पताल व्यवस्थापन कार्यअन्र्तगत पार्किङ शुल्क लिने निर्णय गरेपछि शुल्क उठाउन ठेक्का प्रकृयामा लागिएको भए पनि ठेक्का दिने निर्णय नभएकै बेला केही व्यक्तिले पार्किङ शुल्क लिन अनुमति पाएको भन्दै रकम असुल्न थालेका थिए ।