ताप्लेजुङ/ बैंकको ब्याजदर वृद्धि भएको भन्दै ताप्लेजुङका व्यवसायी आन्दोलित भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले व्यवसायीहरूलाई बैंकले नाङ्गो बनाएकाको बताए ।
बैङ्कहरुले ८ प्रतिशतमा सम्झौता गरेको ऋणको ब्याज १८ प्रतिशतसम्म पुर्याएको व्यावसायीहरुको दाबी छ । ऋण अनुसार मूल्याङ्कन गरेको व्यावसायिक योजनाले फेल खाएपछि धेरै व्यवसायी समस्यामा परेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरे र प्रथम उपाध्यक्ष नारायण थापाद्धारा हस्ताक्षरिक विज्ञप्तीमा भनिएको छ ।
बैंकले बिना जानकारी ब्याज बढाउने र त्यही अनुसार असुल्ने गरेको व्यवसायीको गुनासो छ ।
विज्ञप्तीमा भनिएको छ–“एक तर्फी रुपमा बैङ्क तथा वित्तिय संस्थाहरुवाट ऋणको व्याजदर बृद्धि गर्नाले लगानीकर्ताहरुमा भएको व्यावसायिक उत्साह मर्दै जाने र आम उपभोक्ताहरुमा यसको असर पर्ने देखिन्छ ।” धेरै व्यवसायी निजी बैंकसँग आबद्ध भएकाले ब्याजदर घटाएर एकरुपता गर्न माग गरेका छन् ।
ब्याजदर नघटाए थप आन्दोलित हुने व्यवसायीको अडान छ । सदरमुकाम फुङलिङमा नेपाल बैंक, एनएमबी, जनता, सिद्धार्थ, सेन्चुरी, ग्लोबल आईएमई, लक्ष्मी र प्राइम बैंक रहेका छन् । थप बैंक आउने तयारीमा छन् ।
नौ वटा स्थानीय तह रहेको जिल्लाका ६ वटा गाउँपालिकामा पनि बैंकहरु पुगेका छन् ।