उदयपुर/ स्थानीय सरकार गठनपछि उदयपुरको दुर्गम गाउँगाउँमै जनताले विभिन्न सेवा पाउन थालेका छन् । जिल्लाको उत्तरी विकट लिम्चुङबुङ गाउँपालिकाका जनताले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएका हुन् ।

पालिकाको आयोजना तथा नोबेल हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा पालिकाको केन्द्र बराहामा दुई दिन भएको निःशुल्क स्वास्थ्य शिविरबाट पालिका बासीहरुले स्वास्थ्य सेवा र सुविधा पाएका थिए ।

गरिबीको कारण सरहरको ठुला हस्पिटलमा उपचार गराउन नसक्ने स्थित भएका सर्वसाधरणलाई शिबिरले ठुलो सहयोग भएको स्थानियबासी रमिला राईले बताईन् । शिविरबाट गाउँमै स्वास्थ्य सुविधा पुगेपछि पालिकाबासीहरु खुसी भएको राईले बताईन् ।

विकट पहाडी पालिकाका गाउँघरमा बसोबास गर्ने गरिब जनताहरुले शिविरबाट धेरै सुविधा पाएको छ । आँखा नदेख्ने, कान नसुन्ने, छाति दुख्ने, हात खुट्टा भाँचिए, नसा रोग लगायतका विभिन्न रोगहरुको गाउँघरमै निःशुल्क उपचार र औषधी समेत पाएकोमा एक दमै खुसी र हर्षीत भएको स्थिानिय धनबहादुर वानियाले बताए ।

प्रदेश सांसद नारायणबहादुर बुर्जा मगर र पालिका अध्यक्ष मेजरकुमार राईद्वारा आज (बुधबार) उद्घाटन भएको शिविरमा पालिकाको दुर्गम गाउँबाटसमेत आएर सर्बसाधारणले सेवा लिएका थिए । पालिकाको पाँचवटै वडा अन्तर्गतका गाउँहरुलाई मध्येनजर गरी पालिका केन्द्र बाराहामा शिबिर भएको पालिकाले जनाएको छ ।

दुई दिनसम्म सन्चालन भएको शिविरमा दन्तरोग, आँखा, नाक, कान घाँटी, बाल रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग, स्त्रीरोगको चेकजाँच र निःशुल्क उपचार भएको थियो ।

साथै इसीजी ल्याब परिक्षण, एक्सरे र भिडियो एक्सरे सेवा रहेका छन् । स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा आत्मसाथ गर्दै पालिकाले गरेको शिविर विरामीका लागि बरदान स्वरुप भएको लिम्चुङ्बुङ गाउँपालिकाको मेयर मेजरकुमार राईले बताए ।

विकट पालिकाका पालिकाबासीहरुको आर्थिक स्तर नाजुक भएका कारणले विभिन्न रोगहरु पालेर बस्नु पर्ने बाध्यतालाई नियन्त्रण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको थियो । शिविरको सेवा अधिकांश पालिकाबासीले सेवा लिएको राईले बताए ।

निःशुल्क औषधि वितरण तथा परामर्श सेवासमेत रहेको शिबिरमा बढिजसो वृद्धवृद्धा, महिला तथा बालबालिकाले सेवा पाएका छन् । जिल्ला सदरमुकाम र शहरबजारदेखि धेरै टाढा र भनेजस्तो स्वास्थ्य सेवाको पहुँचमा नरहेका सर्वसाधारणलाई लक्षित गरिएको शिविर सोचेभन्दा बढि सर्वसाधारण आएको नोबेल हस्पिटल विराटनागरको डाक्टर रान्जित सेवाले बताए ।

प्रदेश सांसद बुर्जा मगरले ग्रामिण भेगका जनताका स्वास्थ्यको पहूँच बृद्धि गराउन राज्यले ध्यान दिनुपर्ने र यस्ता शिविर वडास्तरमै गर्नु पर्ने आवश्यकता भएको प्रदेश सांसद नारायण बुर्जामगरले बताए ।
पालिका केन्द्रमा भन्दा पनि भौगालिक वनावटले विकट भएको कारण वडा-वडामा यस्ता शिविर गर्नु पर्ने र जनताको हक हितका लागि सहयोग गर्ने मगरले बताए । स्वास्थ्य भनेको मौलिक हक भित्र पर्ने भएकाले स्थानिय सरकार सँग समन्वयन गर्ने र प्रदेश सरकारलाई सकेको सहयोग समेत माग्ने मगरले बताए ।