धरान/ धरान ७ का मृगौला पीडित ४९ वर्षिय कर्ण मगरलाई धरान १५का स्थानीयहरुले रकम संकलन गरेर सहयोग गरेका छन् । पीडित मगरलाई धरान १५ सुनमार्ग मार्ग र दशरथ पथका स्थानीयहरुले संकलन गरेको ५४ हजार ५ सय ४५ रुपैया पीडित मगरलाई घरमै गएर सहयोग गरेका हुन् ।
मगरको अवस्था दिनप्रतिदिन बिग्रिदै गएपछि सुनगाभा मार्ग र दशरथ पथका युवाहरु रकम संकलनमा जुटेका थिए । स्थानीय अरुण राईको नेतृत्वमा टोलका मनबहादुर आले, भिम लिम्बु, बद्री निरौला र राजन खड्काले गाउमा रकम संकलन गरेका हुन् ।
थोरै भएपनि उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संकलित रकम पीडित मगरलाई सहयोग गरेको टोलका स्थानीय राजन खड्काले बताए ।
कर्ण कुक सञ्चालन गर्दै आएका उनी विगत १० वर्ष भन्दा अगाडिदेखि सामाजिक संस्कार विवाह, ब्रतबन्ध, गुन्युचोली तथा मरिमराउका समयमा बोलाएको स्थानमा गएर कुकको काम गर्ने भने फुर्सदको समयमा धरान ७ र १५ वरिपरि चटपटे बेच्ने बेचेर गुजारा चलाउने गर्दथे ।
दुई वर्ष भन्दा लामो समयदेखि उच्च रक्तचापबाट पीडित मगरलाई मंसिरदेखिमात्र मृगौलाबाट पीडित भएको थाहा भएको उनी बताउछन् । असोजदेखि भने मृगौलाको अवस्था दिनप्रतिदिन विगदै गएको उनी बताउछन् ।
अहिले उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिनामा दुई पटक डाइलासिस गरिने गरिएको पीडितकी श्रीमति अञ्जु तामाङ्ग मगरले बताइन् । परिवारको मुख्य अभिभावक नै विरामी भएपछि अहिले घर परिवार चलाउन नै मुस्किल भएको उनी बताउछिन् ।
उनले श्रीमानको स्वास्थ्यका लागि मृगौला प्रत्यारोपणमा सबै कुरा मिले आफ्नो मृगौला दिने समेत बताइन् । हालसम्म ६० हजार भन्दा बढी खर्च भइसकेको उनको भनाई छ ।