इनरुवा /सुनसरीका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आधारमा १० जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

धरान, इटहरी र इनरुवा क्षेत्रमा मोटरसाइकल चोरीका घटनामा संलग्न रहेको प्रमाणका आधारमा प्रहरीले १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दुहवीका मोहमद अनवर मियाँ, सोही स्थानका अब्दुल कादिर मियाँ, जालम मियाँ, मोहमद समिर मियाँ, गढीका सदाम हुसेन, इनरुवा चाँदबेलाका प्रविण कुमार सिंह, मोरङ ग्रामथानका इरज धामी र अनिरुद्र कुमार चौधरी रहेका छन् ।

त्यसैगरी सुनसरीको गढीकै जीवन कुमार तवदार र इनरुवा ५ बलाहाका आशिष पोखरेल रहेका छन् ।

चोरी गर्ने समूहले भिडभाड हुने स्थान, होटल लज र असुरक्षित पार्किङ गरेका स्थानबाट चोरी गर्ने गरेको पाइएको सुनसरी प्रहरीले जनाएको छ ।

समूहमा परिचालित हुने एक भन्दा बढी युवाहरु आर्थिक प्रलोभनमा चोरीमा संलग्न रहने गरेको पाइएको प्रहरी प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार २०७५ को श्रावण यता सुनसरीमा ९१ वटा मोटरसाइकल हराएका छन् । जसमध्ये ३५ वटा फेला परेका छन् भने केही अनुसन्धानको दायरामा रहेका छन् ।