विराटनगर/ लागूऔषध सेवनमा बिवाद हुँदा सिमावर्ती क्षेत्र जोगवनीमा एक नेपालीलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा एक जना भारतीय नगरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इटहरी- १० शिवनारायण टोलका ४५ वर्षिया कृष्णबहादुर सुनवारलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा भारतको अररीयास्थित १९ वर्षिय पंकज कुमार रायलाई आइतबार राति पक्राउ गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इप्रका रानीको संयुक्त प्रहरी टोलीले भारतबाट सिमा क्षेत्रबाट विराटनगर प्रवेश गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

सुनवारको हत्या भएको ९ महिनापछि प्रहरीले रायलाई पक्राउ गरेको हो ।

‘लामो समयसम्मकोे अनुसन्धान र निगरानीपछि हत्यामा संलग्नलाई पक्राउ गरेका छौं,’ डिएपी श्रेष्ठले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धाबाट हत्याको मुख्य कारण लागूऔषधको विवादमा भएको देखिन्छ ।’

सुनवार समेत लागूऔषध प्रयोगकर्ता रहेकाले उनी जोगवनीमा लागूऔषध सेवन गर्न गएको बेला सामान्य विवाद हत्या गरेको पक्राउ परेका रायले स्वीकार गरेको प्रहरीको भनाई छ ।

‘लागूऔषध सेवनमा विवाद हुँदै गयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विवाद बढदै जाँदा रायले साथमा बोकेको चक्कुले सुनवारलाई प्रहार गरि भारततर्फ भागे ।’

प्रहरीले सुनवारको हत्यामा संलग्न अभियुक्तको पहिचान गरि लामो समयपछि पक्राउ गर्न सफल भएको डिएसपी श्रेष्ठले बताए ।

२०७४ चैत १९ गते दिउँसो सिमा क्षेत्र जोगवनी-रानी बोर्डर नजिकै रहेको दशगजा क्षेत्र भित्र प्रवेश गरी तीन जना भारतीय युवाले सुनवारको हत्या गरेका थिए । इटहरीबाट जोगबनीको टिकुलिया बस्तीमा लागूऔषध सेवन गर्न सुनवार जाने गरेका थिए ।

हत्यामा संलग्न एक जनालाई पक्राउ गरे पनि अन्य दुई जना अझै फरार छन् । फरार भएका दुई जना समेत भारतीय मुलको भएकोले पक्राउ गर्न कठिनाय हुने गरेको बताइएको छ ।

भारतीय प्रहरीसँग समन्वय गरे सुनवारको हत्यामा संलग्न अन्यलाई समेत पक्राउ गर्ने मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई सोमबार जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुद्दमा म्यत थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनवारको यसरी भएको थियो हत्या
ईटहरीबाट लागूऔषध सेवन गर्न आएका सुनवार र तीन जना भारतीयहरू बिच जोगवनीमा लागूऔषध सेवन गर्ने विषयमा विवाद भएको थियो ।

टिकुलियामा छुरा प्रहार गरेको भएपनि आफ्नो ज्यानको सुरक्षा गर्दै नेपाल-भारत दशजगा प्रवेश गरेको र त्यहाँ पुनःदक्षिण गेटको बस्ती नजिकै दशगजामा सुनवारलाई चक्कु प्रहार भयो ।

चक्कु प्रहारबाट सुनवारको खुट्टाको नलि, तिग्रामा गहिरो चोट लागेको थियो । त्यसबेला तत्काल खबर पाएको इप्रका प्रहरी रानीले सुनुवारलाई कोशी अञ्चल अस्पताल लैजाने क्रममा अत्याधिक रक्तश्राव भएको कारण चैत ११ गते चिकित्सवले मृत्य घोषणा गरेको प्रहरीको भनाई छ ।