धरान / धरान–१६ को चर्चित १३ वर्षीया बालिका अनुषा राई हत्या प्रकरणको अन्तिम सुनुवाइ सोमबार भएको छ ।

जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा धर्मपिता बलिमान राई र उनको पत्नी पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार उनीहरूलाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जन्मकैद अनुसार २५ वर्ष जेल सजाय हुने व्यवस्था छ । जिल्ला अदालत ७ नम्बर इजलासका न्यायाधीश खिमानन्द भुषालको इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाइएको प्रवक्ता गिरीले जानकारी दिए ।

अदालतले करिब २२ महिनापछि मुद्दाको अन्तिम फैसला गरेको हो । यसअघि २०७३ चैत्र १४ गते राई दम्पतीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले नै आदेश दिएको थियो । अनुषाको हत्या २०७३ फागुन १६ गते गरिएको थियो । अनुषाले विष सेवन गरी आत्महत्या गरेको भन्दै छिमेकीहरूलाई पनि थाहै नदिई दाहसंस्कारको तयारी गरिरहँदा घटना बाहिरिएको थियो । घटना रहस्यमय भएको भन्दै महिला अधिकारकर्मीहरूले राई दम्पतीलाई पक्राउ गर्नका लागि लागि दबाव दिएका थिए । त्यसक्रममा राई दम्पतीको घरसमेत तोडफोड गरिएको थियो ।

प्रहरीले यस घटनालाई निष्पक्ष रूपमा छानविन नगरेको भन्दै अधिकारकर्मीहरूले सडक आन्दोलनसम्म गरेका थिए । लामो आन्दोलनपछि मात्रै प्रहरीले दम्पतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालन–पोषण गर्दै आए पनि उनीमाथि बलात्कारपछि हत्या गरिएको आरोप लागेको थियो । राई दम्पतीले विराटनगर उच्चअदालत र सर्वोच्च अदालतमा पुनारावेदन गरे पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।