विराटनगर/ मोरङ प्रहरीले इमोमार्फत् ठगी गर्ने चार जनालाई शनिबार दिउँसो विराटनगरबाट पक्राउ गर्यो । बरा प्रसौनी गाउँपालिका–६ बेलहीकी सखिना खातुनलाई इमोमार्फत् २५ लाखको चिट्ठा पर्यो भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका– ३ का ३६ वर्षीय श्रवण मल्लाह, सोही ठाउँका ३४ वर्षीय शत्रुधनकुमार तत्मा, २१ वर्षीय अजयकुमार सिंह र २४ वर्षीय मञ्जयकुमार सिंहलाई प्रहरीले पक्रउ गरेको छ ।
केही दिन अगाडि प्रहरीले चिट्ठा पर्यो भन्दै भाइबरको माध्यबाट साढे १६ लाख रुपैयाँ ठगी गरेका चार जना भारतीयसहित ७ जनालाई पक्राउ गर्यो । पक्राउ परेका भारतीय लामो समयदेखि नेपालका विभिन्न स्थानमा रहेर ठगी धन्दा चलाउँदै आएका थिए ।
मोरङ पथरीशनिश्चरेकी कुमारी मगरले इमोमार्फत् २५ लाखको चिट्ठा परेको विश्वास गर्दा १ लाख ८० हजार रुपैयाँ ठगको हातमा सुम्पिइन् । उनलाई ठगी गर्ने दुई जनालाई माघ २२ गते इप्रका पथरीले पक्राउ गर्यो ।
अछामको साबिक जर्ना गाविस घर बताउने वसन्त कठायत र सोही ठाउँ बस्ने राजेन्द्रबहादुर कठायतलाई फागुन ११ गते मोरङ अदालतको आदेशपछि अहिले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
पछिल्लो समय प्रविधिको फड्को र विकासका कारण सजिलै विश्वासमा पर्दा आपराधिक गतिविधि गर्ने गिरोहको सञ्जालले सर्वसाधरणलाई ठगी गरिरहेको देखिन्छ । प्रविधिको प्रयोग गरेर ठगी गर्ने गिरोहलाई प्रहरीले सजिलैसँग पक्राउ गर्न गाह्रो हुने र प्रमाणहरू समेत सजिलै फेला नपर्ने भएकाले यस्तो विधि अपनाउने गरेको जानकारहरू बताउँछन् ।
इमोलगायतका सामाजिक सञ्जाल र भाइबरबाट ठगी गर्ने गिरोहले कहाँ बसेर ठगी धन्दा चलाउँछन् त्यो पत्ता लगाउन निकै गाह्रो हुने प्रहरी बताउँछ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले समाजिक सञ्जाल र अन्य प्रविधिको प्रयोग गरेर ठगी भएको घटना बढदै गएको बताए । ‘प्रविधिको प्रयोग गरेर कसैले चिट्ठा पर्यो भन्दै पैसा पठाइदिनु भन्छ भने त्यो ठगी गरेको हुन्छ,’ उनले भने, ‘त्यस्ताको पछि लाग्नु हुँदैन ।’ यस्तोमा सर्वसाधरण अझै पनि सचेत हुनुपर्ने श्रेष्ठले बताए ।
प्रविधिको प्रयोग गर्दै ठगी गर्ने गिरोहले विदेश नम्बरबाट फोन गर्दै चिट्ठा परेको सन्देश दिन्छन् । त्यसपछि उक्त चिट्ठा परेको रकम प्राप्त गर्न पहिले निश्चित रकम पठाउन लगाउँछन् । रकम पठाएपछि भने चिट्ठा परेको सूचना दिने प्रयोगकर्ता सम्पर्कमै आउँदैनन् ।
यसरी भाइबर, इमो र सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गर्नेको सङ्ख्या प्रदेश–१ मा बढेको प्रहरीको अभिलेखले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा प्रदेशमा ७२ वटा ठगीको घटनामा ८७ जना पक्राउ परेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरको अभिलेखमा उल्लेख छ । जसमा ७९ जना पुरुष र ८ जना महिला छन् ।
अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष ०७४/७५ मा ठगीको घटना बढेको देखिन्छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा १४ वटा ठगीको घटना बढेको हो । आर्थिक वर्ष ०७४/०७५ मा ८६ वटा ठगीको घटनामा ९६ जना पुरूष र ६ जना महिला पक्राउ परेको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।