भद्रपुर/ झापामा चोरीका मोटरसाइकल पक्राउ गर्न प्रहरीले चासो देखाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न क्षेत्रबाट धमाधम त्यस्ता खाले मोटरसाइकल नियन्त्रणमा लिन थालेपछि प्रहरी सकृयता देखिएको हो ।
गिरोहले नक्कली नम्बर प्लेट राखेर सञ्चालनमा ल्याएका मोटरसाइकललाइ प्रहरीले विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएपछि प्रहरीको काम सतहमा आएको हो । नेपाल-भारतको सिमा क्षेत्रको फाइदा उठाउँदै कारोबारीले भारतबाट चोरी गरेर नेपालको नक्कली नम्बर प्लेट प्रयोग गरी सवारी सञ्चालनमा ल्याउदै आएको प्रहरीले चाल पाएको थियो ।
सूचना पाएसँगै खटिएको प्रहरीले नेपालबाट भारत र भारतबाट नेपाल मोटरसाइकल चोरी निकासी-पैठारी हुने गरेको अनुसन्धानले देखाएको छ ।
यसैक्रममा प्रहरीले झापाका तीनओटा गाउँपालिका क्षेत्रबाट बेवारिसे अवस्थामा सात थान मोटसाइकल फेला पारेको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार ६ थान पल्सर र एकथान प्लाटिनममध्ये एउटा २ सय २० सीसीको र बाँकी १ सय ५० सीसीको रहेको जनाएको छ । यो घटनाले झापामा चोरीको मोटरसाइकल विगविगी रहेको पुष्टि हुन्छ ।
मोटरसाइकल फेला पारेपनि कारोबारीलाइ भने समाउन नसकेको बरामद गरिएका सवारी साधनबाट प्रष्ट छ ।
जिल्ला प्रहरीले बुद्धशान्तीबाट तीन , झापा र कचनकवल गाउँपालिकाबाट दुइ/दुइ थान बेवारिसे अवस्थामा फेला पारेको जिल्लाका एसपी भीमप्रसाद ढकालले जानकारी दिए । भारतबाट चोरी गरी नेपालमा नक्कली नम्बर प्लेट राखेर सञ्चालनमा ल्याइएका त्यस्ता खाले सवारी साधनलाइ प्रहरीको अनुसन्धानबाट नक्कली सावित गरेको एसपी ढकालको भनाइ छ ।
मोटरसाइकल प्रहरीले बरामद गरी यातायात कार्यालयमा लेखा हेर्दा आधिकारिक फेला नपरेपछि चोरीको सवारी साधन देखिने उनले जनाए । यसको अनुसन्धानको प्रक्रिया लामो हुने भएकोले सबै पूरा गरेर मात्र भन्सार बुझाइने उनले बताए ।
कतिपय घटनामा मोटरसाइकल छाडेर भाग्ने गरेको र नक्कली भएका कारण सम्पर्कमा नआएका समेत सवारीलाइ भन्सार पठाउने गरिएको उनले बताए । मान्छे छाडेर सवारीमात्र नियन्त्रणमा लिने काम प्रहरीले कदापी नगर्ने उनले दाबी गरे ।
विभिन्न मितिमा बरामद गरिएका मोटरसाइकललको इन्जिन र चेसिस नम्बर उल्लेख गरि आवश्यक कारबाहीका लागि दुइदिन अघि मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
यसभन्दा अघि पनि प्रहरीले ठूलो सङ्ख्यामा चोरीका मोटरसाइकल बरामद गरि भन्सार बुझाइसकेको छ । आपराधिक कृयाकलापमा बढी मात्रामा पल्सर मोटरसाइकलको प्रयोग हुने विभिन्न घटनामा प्रहरीले गरेको अनुसन्धानले देखाइसकेको छ ।