सिरहा/ सिरहाको लहानमा २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले तालिम भएको बताइएको छ ।
बालअधिकार चेतना समूहका सदस्यहरूका लागि बालअधिकार तथा क्षमता अभिवृद्धि तालिम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश–२ जनकपुर कार्यालयको आयोजनामा सोमबारदेखि मङ्गलबारसम्म लहान नगरपालिका–७ स्थित मारवाडी सेवा सदनको सभा हलमा शुरु भएको थियो ।
इन्सेक प्रदेश –२ का संयोजक राजु पासवानको अध्यक्षता तथा जिल्ला पत्रकार महासङ्घका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा तालिम भएको हो ।
बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने, आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूका बारे तालिम दिइएको थियो ।
उनीहरूलार्य बालअधिकार महासन्धि, नेपालको संविधान २०७३ भाग ३ मौलिक हक र कर्तव्यको धारा ३९ मा रहेको बालबालिकाको हकका बारे प्रशिक्षण दिइएको थियो ।
विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वसहित ब्लाष्ट टाइम्स दैनिकका सिरहा संवाददाता गणेशकुमार ठाकुर र इन्सेक प्रदेश–२ का कार्यक्रम संयोजक जागेश्वर यादवले २ दिन सम्म ३८ जना विद्यार्थीहरूलाई तालिम प्रदान गरेका थिए ।
































