मेचीनगर/ झापाको धुलाबारी–९ की एक महिलाले आफ्नै घरमा बाहिर होटल र भित्र यौनव्यावसाय सञ्चालन गरेको पाइएको छ । शनिबार राति ८ बजेतिर होटलमा कार्यरत आफ्नी दिदीलाई भेट्न गएका भाइले यौन क्रियाकलापमा संलग्न भएको भेटेपछि उक्त रहस्य खुलेको हो ।
आफ्नी दिदीलाई भेट्नका लागि युवक पुग्दा नभेटेपछि होटल घरको कोठामा प्रवेश गर्दा दिदीलाई अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला पारेका थिए । ‘दिदीलाई भेट्न जाँदा यहाँ छैन भनेर ढाँटे । घरभित्र छिर्न खोज्दा दिएनन् । जबर्जस्ती छिर्दा आफ्नी दिदीलाई नै गलत गतिविधि गर्दै गरेको भेटेपछि आफूले हेर्नसक्ने अवस्थै भएन’ –उनले ब्लाष्टकर्मीसँग भने ।
त्यसपछि बाहिर निस्कन खोज्दा होटलको साहुनी र मापसे गरेका केही युवकले आफूमाथि हातपात गरेको ती युवकले बताए । ती युवकले नै प्रहरीमा खबर गरेपछि छापा मार्ने क्रममा प्रहरीले होटलकी साहुनीसहित उनको दिदीलाई पनि पक्राउ गरेको थियो ।
उनी घरबाट बाहिर निस्किएपछि गाउँमा हल्ला भएको थियो । युवकको जानकारीको आधारमा साहुनी र उनको दिदीलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर टीकाबहादुर कार्कीले जानकारी दिए ।
सोही होटलमा मापसे गरेर हातपात गर्नेहरू फरार रहेकाले उनीहरूले प्रयोग गरेको मे. ५ प ८७७० नम्बरको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त मोटरसाइकल मेचीनगरका कमल मेचेको रहेको खुल्न आएको इन्स्पेक्टर कार्कीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका होटल साहुनी र ती युवतीलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर कार्कीले बताए । ती महिलाले आफ्नै घरमा लामो समयअघिदेखि यसप्रकारको धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् ।
स्थानीयले सो विषयमा वडा कार्यालयलाईसमेत जानकारी गराएका थिए । वडा कार्यालयलेसमेत होटल साहुनीलाई अनैतिक गतिविधि नगर्नका लागि निर्देशन दिएको स्थानीय महिला बताउँछन् । ‘बारम्बार सम्झाए पनि लागेन यिनीहरूलाई’ –नाम नछाप्ने शर्तमा एक महिला भन्छिन् ।
मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काले स्थानीय महिलाहरूको अनुरोधमा होटलमा गई यसअघि नै सम्झाएको जानकारी दिए ।