भद्रपुर/ सशस्त्रका साधा पोसाकका प्रहरीलाइ नियन्त्रणमा लिइ इलाम जिल्लाको मातहातमा कार्यरत जनपथले कपडा बाेकेको गाडी छाडेको घटनालाइ लिएर सइको नेतृत्वमा तीन सदस्य छानविन समिति गठन गरी काम शुरु गरेको छ ।
प्रदेश १ का प्रहरी प्रमुखको कार्यालय विराटनगर र इलामबाट प्रहरी परिचालन गरी सइ हेमराज ओलीको संयोजकत्वमा रहेको टोलीले एक साता भित्र प्रतिवेदन बुझाउने गरी काम शुरु गरेको हो ।
घटना भएको भोली पल्ट(मङ्गलबार)बाट नै छानविन समिति परिचालन गरिएको इलामका एसपी माधव श्रेष्ठले बताए । प्रहरी चौकीमा सइ भोजराज श्रेष्ठलाइ पठाएर घटनामा आरोपित देखिएका असइ प्रल्हाद बाेगटीलाइ कारबाहीका लागि फिर्ता बोलाइ उनिमाथि छानविन भइरहेको एसपी श्रेष्ठले जनाए ।
अन्य प्रहरीको विषयमा छानविन टोली मार्फत टुङ्गो लाग्ने उनको भनाइ छ । घटना भएको स्थान इलामको रोम गाउँपालिका ४ स्थित कलश गेटमा भएको उनले बताए । जिल्लाबाट चौकी धेरै टाढा भएको र सो आसपासमा सीसी टिभी क्यामेरा दिगो रुपमा नभएका कारण समस्या देखिएको उनले जनाए ।
घटनालाइ मध्यनजर गरी सीसी क्यामेरा जडान गर्ने विषयमा गाउँपालिकामा लिखित जानकारी गराइसकेको उनले जानकारी दिए ।
घटनाको विषयमा जानकारी पाए लगत्तै इलामका एसपीलाइ निर्देशन दिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा डिआइजी केदार रिजालले बताए । तीनजना प्रहरीलाइ एकसाता भित्र प्रतिवेदन बुझाउने गरी काम अघि बढाइएको डिआइजी रिजालको भनाइ छ ।
इलाम हुदै झापा आउने सडकमा सीसी टिभी क्यामेरा नभएका कारण यस्ता घटना हुने गरेको उनको भनाइ छ । झापा र इलामको सिमानामा सीसी क्यामेरा राखेपनि दिर्घकालीन नभएकोले अब विषेश प्रविधि अपनाएर तत्काल केही थान क्यामेरा जडान गरिने उनले बताए । क्यामेरा जडानको विषयमा सुरक्षा निकायसहित छिमेकी जिल्लासँग छलफल भइरहेको उनको भनाइ छ ।
इलामको पशुपतीनगरबाट मे १ ज १६५३ नम्बरको पिकअप गाडीमा कपडा बाेकेर झापा आउदै गरेको गाडीलाइ झापा र इलामको सिमानामा रहेको इलाम तर्फको प्रहरीे चेकपोष्टबाट साधा पोसाकमा गएका दुइजना सशस्त्र प्रहरीले सोमबार राती अन्दाजी ११ बजेको समयमा जनपथ प्रहरीको चेकपोष्ट नजिकै कलश गेटबाट गाडी नियन्त्रणमा लिएका थिए ।
असइसहित मापसे गरेका पाँचजना प्रहरी र कारोबारीको एक समूहले सशस्त्र प्रहरी बल १ नम्बर वाहिनी सुनसरीबाट खटिएका दुइजना प्रहरीलाइ नियन्त्रणमा लिएर गाडी छोडेका थिए । ब्लाष्ट दैनिक मार्फत गाडीको नम्बर समेत उल्लेख गरेर समाचार सार्वजानिक भएपनि हालसम्म गाडी सार्वजानिक नहुनुमा घटना रहस्यमय बन्दै गएको छ ।
घटनामा इलाम र झापाका दुबै तहका प्रहरीको सक्रिय भूमिका हुनु पर्ने घटनाक्रमले देखाएको छ ।