बेलबारी/ मोरङको बेलबारीमा धेरै मेला महोत्सवहरु लागे, कतिपय मेला महोत्सवहरुको हिसाव किताब नै सार्वजानिक गरेनन् । यसैक्रममा युवा जागरण अभियान नेपाल बेलबारीले भने महोत्सवको उद्येश्य अनुरुप कार्यको थालनी गरेको छ ।
गतसाल बेलबारीमा आयोजित शैक्षिक महोत्सवको औचित्यलाई पुष्टी गर्दै विहीबार बेलबारीमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका हुन् । अभियानले जहनी ८ हजारको दरले १८ जना विद्यार्थीहरुलाई रकम वितरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले छात्रवृत्ति रकम वितरण गरेका हुन् । महोत्सवबाट नाफाको रुपमा रहेको १५ लाख रुपैया छात्रवृत्ति प्रदान गर्न अभियान नेपालले अक्षयकोष स्थापना गरेको अभियान नेपालका सदस्य जनक लिम्बूले बताएका छन् ।
अभियान नेपाल शैक्षिक क्षेत्रमा रहेको वेथितीहरुको सुधारका साथै बालबालिकाहरुको शैक्षिक अधिकारका लागि लागिपर्ने लिम्बूले बताए ।
कार्यक्रममा बेलबारी नगरका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाली काँग्रेस महासमिति सदस्य ललितबहादुर श्रेष्ठ,नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, बेलबारी जेसिसका कार्यकारिणी उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी, बेलबारी साना सहरी खानेपानी आयोजनाका अध्यक्ष महेन्द्र सुवेदी, लगायत विभिन्न राजनैतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अवशरमा विद्यार्थीहरुको र्यालीको पनि आयोजना गरिएको थियो । 'बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर, संविधानको भावना अनुसार मावि सम्मको निशूल्क शिक्षा कार्यानवयन गरू जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले भगवती मावि देखि तमु वुद्धिष्ट गुम्बा सम्म र्याली गरेका थिए ।
कार्यक्रम अभियान नेपालका अध्यक्ष सुजित बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।
































