सिरहा/ सिरहामा इजाजतबिनै एम्बुलेन्स सञ्चालनमा रहेको पाइएको छ । जिल्लाभरी झण्डै २ दर्जनभन्दा बढी एम्बुलेन्स इजाजतबिनै सञ्चालन रहेको पाइएको हो ।  तर, पनि सम्बन्धित निकाय मुकदर्शक बनेर बसेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको हालसम्मको रेर्कडअनुसार २५ वटा विभिन्न स्वास्थ्य संस्थाको नाममा एम्बुलेन्स सञ्चालन रहेको छ भने रेडक्रस सिरहा शाखा , चोर्हवा शाखा, दैशिपोडी शाखा गरी ३ वटा एम्बुलेन्स सञ्चालनमा रहेको सिरहाका शाखा अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।

शाखा अधिकृत कर्णका अनुसार स्वास्थ्य संस्थाको निर्देशिकाअनुसार जिल्ला समितिबाट सिफारिस तथा अनुमति लिई मात्र सञ्चालन गर्न पाउँने कानूनी प्रावधान रहेको छ ।  निर्देशिकाअनुसार प्रमुख जिल्ला अधिकारी, जिससका अधिकृत स्तरका प्रतिनिधि जनस्वास्थ्य प्रमुख सदस्य सचिव रहने गरी ५ सदस्य समितिको निर्णय अनुसार सहमति दिने प्रावधान रहेको शाखा अधिकृत कर्णले बताए ।

उनका अनुसार कतिपय एम्बुलेन्स इजाजतबिनै सञ्चालनमा रहेको हुनसक्ने बताए । यता केही दिनअघि एम्बुलेन्स चालकले नै मिर्चैया नगरपालिका–११ सीतापुरकी सञ्जु पासवानलाई लहान अस्पतालबाट विराटनगरका लागि रेफर गरेको बिरामीलाई ओमगुरु हेल्थ केयर पुर्याएका थिए ।

उक्त हेल्थ केयरमार्फत् सञ्चालित एम्बुलेन्स इजाजतबिनै सञ्चालन भएको बताइएको छ । यता इजाजतबिनै अवैधरूपमा सञ्चालनमा रहेको एम्बुलेन्स बन्द गराउनतर्फ सरोकारवाला कुनै चासो नलिएको जनगुनासो रहेको छ ।