मेचीनगर/मेचीनगर नगरपालिका–६ जनआश्था टोलमा भीषण आगलागी हुँदा २१ घर ध्वस्त बनेका छन् ।
बिहीबार राति करिब ७ः५० बजेबाट शुरु भएको आगलागीले २१ घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । आगलागीको कारण पनि खुल्न सकेको छैन र कुन घरबाट आगालागी भयो भन्ने विषयमा पनि जानकारी नभएको मेचीनगर नगरापलिका–६ जनआश्था टोल विकास संस्थाका अध्यक्ष जितबहादुर बस्नेतले बताए ।
बस्नेतका अनुसार करिव २–३ करोड क्षति भएको छ । तर, क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । उक्त टोलमा अधिकांश घर फुस तथा टिनले छाएको रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले जानकारी दिए ।
आगालागी नियन्त्रणका लागि प्रहरी, स्थानीयबासी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी खटिएका छन् । मेचीनगरको बारुण यन्त्र समयमा नआएका कारण पीडितहरूले आक्रोस पोखेका छन् । दमकल नआएका कारण बढी क्षति भएको पीडित केशव लिम्बूले बताए । लिम्बूका अनुसार बारुण यन्त्र आए पनि पानीविहीन आएकाले क्षति बढेको बताए ।
स्थानीय नवीन राई, मनिप्रसाद गुरुङ, भुपाल तामाङ, धनवीर तामाङ, आदी नेवार, हर्कबहादुर तामाङ, सविना राजवंशी, भूपाल सिवाकोटी, गोले तामाङलगायतको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने नभएको डिएसपी थापाले जानकारी दिए । आगलागीका समयमा तीन वटा सिलिण्डर पड्किएको थियो ।
जसका कारण आगो अन्यत्र पनि फैलिएको थियो । आगालागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर तथा दमक नगरपालिकाको बारुण यन्त्रको सहायतामा अबेर मात्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।