मोरङ/ नोबेल मेडिकल कलेजमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नोबेलकी प्रबन्ध निर्देशक शर्माले नयाँ विद्यार्थीहरुलाई मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिइन् । त्यस्तै कलेजका प्राचार्य डा.रामहरी घिमिरे र जनसम्पर्क अधिकृत नारायण दाहालले नयाँ विद्यार्थीलाई अनुशासित भएर कलेजको नियम कार्यान्वयन गर्न आग्रह गरे ।
सोही अवसरमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विदाईसमेत गरिएको थियो । विदाई भएका विद्यार्थीहरुलाई नोबेलको नाम उच्च राख्ने गरी काम गर्न अस्पतालका पदाधिकारी तथा चिकित्सकहरुले आग्रह गरे ।
नोबेलमा एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउँने गरेको नोबेल मेडिकल कलेजले जनाएको छ । पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा स्वागत कार्यक्रम भएको हो ।
सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा, प्राचार्य डा.रामहरी घिमिरे, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल, आर्थिक विभाग प्रमुख अमिर न्यौपाने, मानव संशाधन विभाग प्रमुख सरोज दाहाल, शैक्षिक विभागका सुरेन्द्र घिमिरे लगायतले विद्यार्थीहरुलाई खादा लगाएर स्वागत र अविरसहित मायाको चिनो दिएर विदाई गरे ।