मोरङ/ उपचार गर्ने पैसा नहुँदा श्रीमतीको मृत्यु प्रतीक्षा गर्न बाध्य बनेका मोरङको पथरीशनिश्चरेका दिलबहादुर धिमाल हाल यो पीडाबाट मुक्त बनेका छन् ।

श्रीमती पिच्वी धिमालको उपचारमा नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले सहयोग गरेपछि उनको पीडा हटेको हो । रकम अभावमा उपचार गराउनबाट बञ्चित बनेका उनको परिवारलाई डा. शर्माले सहयोग गरेका हुन् ।

‘उपचार गर्ने पैसा नभएकाले मैले त श्रीमतीलाई माया मारिसकेको थिएँ,’ दिलबहादुरले भने ‘सुनिल सरले हामीमाथि उपकार गर्दिनाले श्रीमतीको ज्यान जोगियो ।’ धिमाल परिवारको दयनीय अवस्था थाहा पाएर उद्धारका लागि डा.शर्मा बिरामीको घरमै पुगेका थिए ।

करिब एक वर्षअघिदेखि हात खुट्टा नचल्ने र पिसाबको समस्याका कारण थला परेकी पिच्वीको उपचारमा डा. शर्माले सहयोग गरेका हुन् । रोगले थलिएको महिनौँ बितिसक्दासम्म पनि पैसा नभएका कारण उपचार गर्न नसकेको थाहा पाएर सहयोग गरेको डा.शर्माले बताए ।

नोबेलमा ल्याएर धिमाललाई निःशुल्क उपचार र औषधि र बिरामीसहित कुरुवालाई खानाको व्यवस्था गरिदिएका थिए । खर्चको अभावमा उपचारबाट बञ्चित बनेका धिमालकी श्रीमती ठीक भएपछि धिमाल परिवार दङ्ग छन् ।