धरान/ उपप्रधान, स्वास्थ जनसङ्ख्या तथा वातावरण मन्त्री उपेन्द्र यादवले न्यूट्रिसन तथा डाइटिसियन विभागको जायज माग पूरा हुने दाबी गरेका छन् ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको निमन्त्रणमा क्याम्पस अनुगमनपछि उनले विभागको माग पूरा गर्ने आश्वासन दिएका हुन् । उनले नेपाल सरकारलाई पर्याप्त मात्रामा पोषणविद चाहिए पनि आबश्यक दरबन्दी नरहेको बताए । उनले दरबन्दी सिर्जना गरेर पनि माग पूरा गर्ने दाबी गरेका हुन् ।

क्याम्पस प्रशासनले स्वास्थ्यमन्त्री यादवसँग पोषण विदहरूलाई नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता गरिनुपर्ने वा छुट्टै काउन्सिल बनाइनुपर्ने मागसमेत गरेको छ ।

‘यो क्याम्पस मेरो पनि क्याम्पस हो, मैले पनि यो क्याम्पसको शिक्षा लिएको छु ।’ उनले भने, ‘त्यसैले डाइटिसियनको मात्र होइन माइक्रोबायोलोजीको विषयमा समेत म संवेदनशील छु ।’ क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि उनले क्याम्पस चिफ तथा सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे ।

क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. धनबहादुर कार्कीले लिखित माग पेश गरेका थिए । विद्यार्थीको तर्फबाट स्ववियु सभापति सौरब सञ्जेलले माग पेश गरे ।