जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी जनकपुरमा राम जानकी विवाह पञ्चमी महोत्सवमा आयोजना भइरहेकोे पाँचौं दिन मंगलबार ’मटकोर’ विधि हुँदैछ । जानकी मन्दिरबाट जनकनन्दनी जानकीको प्रतिकात्मक स्वरूपसँगै गीतनाद, बाजागाजा र झाँकीसहित निस्केको डोला ऐतिहासिक गंगासागर पुगी माटो खनेर मटकोर विधि गर्ने परम्परा छ ।

वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक जानकी मन्दिर भित्राइएको माटोले रामजानकी विवाहका लागि विवाह वेदी तयार गर्ने परम्परा छ । भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा छन् । यसअघि सोमबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) राम मन्दिरमा लगिएको थियो । यसलाई तिलकोत्सव भनिन्छ । यसअघि महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ सम्पन भएको थियो । छैटौँ अर्थात् महोत्सवको मुख्य दिन बुधबार राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।

योगी आदित्यनाथलाई तीन तहको सुरक्षा घेरा
रामजानकी विवाह महोत्सवमा सहभागी हुन बुधबार भारतको अयोध्याबाट आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भव्य स्वागतको तयारी गरिएको छ । आदित्यनाथ भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । प्रदेश २ का डिआईजी हरिबहादुर पालका अनुसार जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिरमा पूजा गर्न आउनेछन् । त्यसपछि प्रदेश २ सरकारको मधेश भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक भए पछि उनी विवाहपञ्चमी महोत्सव बाह्रबिघा मैदानमा आयोजना हुने स्वयंवरमा सहभागी हुनेछन् । विवाह पञ्चमीमा सहभागी भई आदित्यनाथ सोझै विमानस्थल पुगेर लखनऊ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको डिआईजी पालले जनाए ।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले आयोजना गर्ने दिवा भोजका क्रममा आदित्यनाथले प्रदेशका नेताहरूसँग सामूहिक भेटघाट हुने कार्यक्रम छ । मुख्यमन्त्रीको सम्मानमा आयोजित दिवाभोजमा ३६ व्यञ्जन राखिने भएको प्रदेश सरकारले जनाएको छ । दिवाभोज (भण्डारा)मा भारतबाट जन्ती भएर आउने साधुसन्त, राजनीतिक, सामाजिक क्षेत्रका अगुवाहरू पनि सहभागी हुनेछन् । मुख्यमन्त्री योगी आदित्यनाथको धार्मिक भ्रमणमा जानकी मन्दिर, बाह्रबिघा, प्रदेश सचिवालय रहेको मधेश भवन लगायत नगरका विभिन्न स्थानमा स्वागतद्वार बनाइएका छन् । सफाइमा नेपाली सेना, प्रहरी, स्थानीय तहका प्रतिनिधि लगायत सफाइ अभियन्ता जुटेका छन् । यसरी विवाहपञ्चमी र मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका झण्डै तीन हजार ५ सय र सशस्त्र प्रहरीका एक हजार पाँच सय गरी पाँच हजार सुरक्षकर्मी परिचालन गरिएको डिआईजी पालले जानकारी दिए । योगी आदित्यनाथलाई तीन तहको घेरामा सुरक्षा दिइने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । नेपाली सुरक्षाकर्मी बाहेक योगी आदित्यनाथका केही विशेष सुरक्षा दस्तासमेत भारतबाटै आउने भएको छ ।