वराहक्षेत्र/ स्वास्थ्य सेवाको अभावमा नगरपालिकाका गर्भवती महिलाहरूले ज्यान नगुमाऊन् भन्दै बेलका नगरपालिकाले लत्ताकपडा (डिगनिटी टुलकिट) सहितको निःशुल्क बर्थिङ सेवा शुरु गरेको छ ।
नगरपालिकाले लिएको स्वास्थ्य नीति अनुसार गर्भवतीहरूको अकालमा कसैको ज्यान नजाओस् भन्दै सुरक्षित बच्चा जन्माउनका लागि तपेश्वरी र नगरपालिका रहेको रामपुर बजारमा बर्थिङ सेन्टर खोलिएको बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा (स्वस्तिक) ले बताए ।
महिलाहरूलाई बर्थिङ सेन्टरमा आउन प्रोत्साहित गर्न र आर्थिक अवस्था कमजोर भएकालाई एक हप्तासम्म खाने बस्ने निःशुल्क सुविधासहितको सेन्टर उपलब्ध गराएको मेयर थापाले बताए । केही नभएकालाई दुई जोरका दरले साडी, ब्लाउज, पेटीकोट र कोही नभएको समयमा सिटी बजाएर आवश्यक सहयोग बोलाउन ह्वीसल दिइने थापाले बताए ।
यसैगरी नगरपालिकाले स्थानीयको दीर्घकालीन स्वास्थ्यका लागि फरक क्षमता भएकालाई नक्कली हात खुट्टालगायत उपलब्ध गराइने, आङखस्ने महिला र कुष्ठ रोगले पीडितलाई लाई निःशुल्क उपचार गराइने जानकारी दिए ।
जग्गा दिनेलाई सम्मान
बेलका नगरपालिकाको वडामा चोक निर्माण गर्नका लागि निःशुल्क जग्गा प्रदान गर्ने जोगमाया र मुनेश्वर राईलाई नगरप्रमुख दुर्गा थापाले सम्मान गरेका छन् । वडाको मूलगाउँमा रहेको सूर्यचोकमा लागि करिव १ कट्ठा जग्गा दान दिएका उनीहरूलाई मेयर थापाले खादा तथा फूलको माला लगाएर सम्मान गरेका थिए ।