धनकुटा / ‘महिला स्वास्थ्य स्वयमसेविकाको निश्वार्थ सेवा, स्वस्थ्य, समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने मुल नाराको साथ बुधवार धनकुटामा १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
धनकुटा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटाका १० वडामा कार्यरत ४५ जना स्वयम् सेविकाहरू सहभागी थिए । उनीहरूले धनकुटाको मदनचोकमा भेला भई बजार परिक्रमा गर्दै नगरपालिकाको सभाहलमा पुगेर अन्तरिक्रया कार्यक्रम गरिएको थियो ।
उनीहरूले राज्यले आफूहरूमाथि श्रम शोषण गरिरहेको आरोप लगाए ।
आर्थिक वर्ष ०७४/०७५ देखि धनकुटा नगरपालिका स्वास्थ्य शाखाले स्वयम् सेविकाहरूलाई १ रुपैयाँ पनि भत्ता नदिएको आरोप लगाए । धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा स्वास्थ्य सेवामा उत्कृष्ठ योगदान गर्ने २ जना स्वयम् सेविका सम्मानित भएका थिए ।
धनुकटा–१० बेलहरा स्वास्थ्यचौकीमार्फत् सेवा प्रदान गर्दै आएकी ५९ वर्षीय हरिमाया राई र धनकुटा–१ हिलेमा कार्यरत यमुना पाठकलाई दोसल्ला ओढाई सम्मानित गरिएको छ ।
नगरपालिका स्वास्थ्य स्वयम् सेविका सङ्घकी अध्यक्ष दुर्गादेवी श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख कृष्णबहादुर मिजार, ६ नम्बर वडाका वडाध्यक्ष नरेश श्रेष्ठ, १ नम्बर वडाका वडाध्यक्ष निरेन तितुङ तामाङलगायतको उपस्थिति रहेको थियो ।