धरान/ कवि बादलदेवी चाम्लिङद्वारा लिखित ‘पाठेघर’ कविता सङ्ग्रहमाथि शनिबार वराहक्षेत्रमा परिचर्चा भएको छ ।   परिचर्चाको क्रममा उनले आफ्नै कविता सुनिरहदा मञ्चमै भावुक बनिन् । नवजागरण पुस्तकालय इटहरीले आयोजना गरेको परिचर्चामा वक्ता कवि टीका आत्रेयले कविता वाचन गरिरहदा उनी मञ्चमै रोइन् ।

प्रमुख श्रोता कवि तथा सञ्चारकर्मी प्रकाश दिप्साली राईले उनको कविताको केही अंश वाचन गर्दै कार्यक्रमको प्रारम्भ गरे । पाठेघरमाथि वक्ताहरू टीका आत्रेय, रामप्रसाद खरेल र आलोक खनालले टिप्पणी गरे । आत्रेयले कविताहरू कला र विचारको संयोजनले आकर्षक भएको बताइन् ।

उनले कविताहरू शक्तिशाली हुँदाहुँदै पनि कसैप्रति बढि समर्पित भएको बताइन् ।   अर्कावक्ता रामप्रसाद खरेलले बादलका कविताहरू प्रभाव छाड्न सफल रहेको बताए । कवि बादल चाम्लिङ्ले आनो पहिलो कृति भएकाले आफू राम्रो गर्ने प्रयासमा सदैव लागिरहने बताइन् । उनले सङ्ग्रहको शीर्ष कविता वाचन गरिन् ।