विराटनगर/अन्यबेला सुनसान रहने विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रम शनिबार भने साङ्गीतिक मनोरञ्जनमा भुलेको छ ।  आश्रममा आश्रितहरू कोही गीत, कोही नृत्यमा रमाए । दिनभर आश्रम सङ्गीतमय बन्यो ।

मञ्जिना मुभिज क्रिएशन र मिस नेवा कोशीले आश्रित बालबालिकाहरूको प्रतिभालाई बाहिर ल्याउन ‘लिटिल च्याम्स’ प्रतियोगिता आयोजना गरेपछि सङ्गीतमय बनेको हो । पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत, नृत्य तथा आफ्नो प्रतिभा प्रस्तुत गरे ।

जसमध्ये आश्रमका अभिषेक राईले लिटिल च्याम्सको उपाधि जिते । मञ्जिनाका निर्देशक जतिन ताम्राकारका अनुसार राईले ‘प्रेम गीत’ चलचित्रको ‘म यस्तो गीत गाउछु’ बोल गीत गाएका थिए । उनलाई शिल्ड तथा मेडल प्रदान गरियो ।

निर्णायकमा गायक तथा सङ्गीतकार सुमन श्रेष्ठ, स्वेता तुलाधर रहेका थिए । हाँस्यकलाकार पारस थापाले प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरे । आयोजकले आश्रमकी अध्यक्ष सीता पोखरेललाई नगद ५ हजार ५ रुपैयाँ प्रदान गरेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आश्रममा रहेका बालबालिकाहरूको प्रतिभा उजागर गर्न यस्तो प्रतियोगिताले अहम भूमिका खेल्ने बताइन् ।  लिटिल च्याम्स प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै प्रतियोगीहरू ।