काठमाडौं /  नेपालमा कण्डम भन्ने वित्तिकै अहिले पनि धेरै सर्वसाधरणका लागि लाजले भुतुक्कै हुन्छन् । तर, विस्तारै नेपालीहरु पनि कण्डमलाई सामान्य तरिकाले बुझ्न थालेका छन् । पछिल्लाे समय प्रयोग गर्ने पनि बढेका छन् ।

सुरक्षित यौन सम्पर्कका लागि निकै भरपर्दो मानिने कण्डमबारे जनचेतना वृद्धिसँगै यसको प्रयोगकर्ता पनि बढिरहेका हुन् । तथ्यांकका हिसावले नेपालमा हरेक वर्ष ५ करोड थान कण्डम खपत हुने गरेको छ । त्यो नेपालको आवश्यकताको ५० प्रतिशत मात्र भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा हरेक वर्ष सरकारले २ करोड ५० लाख कण्डम निःशुल्क वितरण गर्छ भने निजी क्षेत्रले पनि सोही अनुपातमा बिक्री गर्ने बताइन्छ । नेपालमा ४० प्रतिशत युवा विवाह अघि नै यौनसम्पर्कमा संलग्न हुन्छन् । तीमध्ये ४० प्रतिशतले मात्र कण्डम प्रयोग गर्ने नेपाल परिवार नियोजन संघको एक अध्ययनले देखाएको छ ।

नेपाल सरकारको एक अध्ययनअनुसार कात्तिक र मंसिर महिनामा नेपालमा कण्डमको खपत बढी हुने गरेको छ । अन्य महिनामा सरदर २५ लाख कण्डम खपत हुन्छ भने ती दुई महिनामा झन्डै ३२ लाख कण्डम खपत हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । ती दुई महिना रोजगारीका लागि स्वदेशभित्रै अन्य सहरमा वा विदेश गएकाहरू घर फर्कने हुँदा कण्डमको माग बढ्ने गरेको जानकारहरू बताउँछन् । नेपालमा निःशुल्कदेखि ८ सय रुपैयाँसम्मका कण्डम पाइन्छन् । सिलिकनले बनेका अन्तर्राष्ट्रिय ब्रान्डका ८ सय रुपैयाँसम्मका कन्डम नेपाली बजारमा उपलब्ध छन् ।