दमक/ २०७३ सालमा आएको बाढीका कारण विस्थापित भएका १० घर मिस्त्री परिवारले अझैसम्म राहत पाएका छैनन् । मिस्त्री परिवारलाई आवास बनाएर राख्ने जिम्मा लिएको अन्तर्राष्ट्रिय झापाली समाजले अझैसम्म काम पूरा गर्न सकेको छैन ।

कमल–१ सरनपाडामा स्थानीय एक समाजिक व्यक्तिले दान गरेको ३ कट्ठा जमिनमा नमुना घर बनाउने भने पनि घोषणामा मात्र सिमित भएको छ । घोषणा गरेको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर काम भने एक भाग पनि भएको छैन ।

स्थानीय दुर्गा मिस्त्री भन्छन् ‘खै हामीलाई देखाएर अरुले नाम कमाउन खोजेका हुन कि’ ? उनले तीन परिवारलाई हुने गरी एउटा भवन चाहिँ बनाएको तर यसको काम पूरा नभइसकेको बताए । ‘यो वर्षको बर्खा जसो–तसो काटियो तर टहरा दह्रो नभएकाले जाडो चाहिँ कटाउन मुस्किल पर्लाजस्तो छ ।’

मिस्त्री परिवार अधिया खेती गरेर जीविकोपार्जन गर्दै आएका थिए । खेतबारी स्थानीय कमल खोलाले बगाइदिएपछि उनीहरूलाई बिहान बेलुका छाक टार्न समस्या भएको छ । घाम पानीबाट बच्ने झुप्रोमा कमल खोलाको बाढी पस्यो ।

बाढीले घरका सबै सामानमात्र बगाएन । भेलका कारण घरबाटै निस्कन बाध्य बनायो । दैनिक ज्याला मजदुरी गर्ने २९ वर्षीय सुनिल मिस्त्री भन्छन्, ‘हामी घरमा बस्न चाहन्छौं ।’
विभिन्न सङ्घ–संस्थाले जस्तापाता लगायतका सामग्री प्रदान गरेपनि घर निर्माण भने हुन सकेको छैन ।

समयमा पैसा आएनः समिति
नमुना बस्ती निर्माणका लागि गठन भएको स्थानीय समितिले विदेशमा रहेका झापालीले पैसा नपठाएर काम ढिला भएको बताएको छ ।  अन्तर्राष्ट्रिय झापाली समाजसँग सहकार्य गर्नका लागि दमकका व्यवसायी प्रकाश प्रसाईंको संयोजकत्वमा समिति निर्माण गरिएको थियो ।

संयोजक प्रसाईंले हालसम्म १५ लाख रुपैयाँ आएको बताए । बाँकी रकमको माग भइरहेको उनको भनाइ छ । प्रति घर तीन लाखका दरले निर्माण गरिने समितिको योजना छ । रकम आइपुग्ने बित्तिकै काममा लागिहाल्ने संयोजक प्रसाईंले बताए ।