मोरङ/ नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् ।

सुन्दरहरैंचा-१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ ।

हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिविरमा आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट ग्रामिण क्षेत्रका विपन्न विरामी बढी लाभान्वित भएका छन् ।

गाउँ-गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि शिविरमा उपचारका लागि आएका थिए । यसैवीच शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ३५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएका विरामीलाई नोबेल अस्पतालकै गाडीमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गरी पुनः गाउँमै पुर्याउँने व्यवस्था मिलाईने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

गरिब तथा विपन्न विरामीलाई लक्षित गरी नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।