बेलबारी / पूर्व पश्चिम मदन भण्डारी मार्गलाई विभिन्न बहानामा साविकको बाटो छाडेर चुरेक्षेत्रबाट लाने षडयन्त्र गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

विशेष गरेर केराबारी बजारको बाटोलाई सर्वेक्षण गरिएता पनि बजारमा ठूलो क्षति हुने भन्दै बाटो सार्ने षडयन्त्र भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । नेपाल सरकारले यसै वर्षदेखि निर्माण सुरु गर्नेगरी राष्टिूय गौरवको आयोजनाको रुपमा लिइएको मदन भण्डारी मार्ग निर्माण सूरु नहुदै विभिन्न समुहहरुले ज्ञापन पत्र पेश गर्ने क्रम नरोकिएपछि बाटो कहाबाट लाने हो भन्ने विषयमा अन्यौल पनि भएको छ ।

मदन भण्डारी मार्गको विवाद मधुमल्ला ,लेटाङ नगरपालिकामा पनि उत्पन्न भएको थियो । तर अहिले त्यसक्षेत्रमा यसको विवाद समाधान हुने क्रममा छ । तर अहिले यो विवाद केराबारीमा भने चुलिएको छ ।

बाटो गुगल म्याप अनुसार नै लाने या नयाँ सर्वे गरी पहाडको फेदी या आसपासबाट लाने भन्ने विषयमा दुई छुटाछुटै समुह तथा गुटमा स्थानीय वासिन्दाहरु विभाजित भएपछि विवाद बढेको हो । विवाद समाधानका लागि केराबारी गाउँपालिकाले विभिन्न पहल गरेता पनि त्यसको ठोस निकास दिन सकेको छैन ।

बाटो सार्ने वा नसार्ने भन्ने विषयमा केराबारी गाउँपालिकामा पछिल्लो दुई महिनामा आधा दर्जन जति ज्ञापनपत्र आएको छ । सुरुमा प्रस्तावित मोटरबाटोलाई साविक बाटो भएर जादा बजारका धेरै घरहरु भत्किने र पुराना संरचना नै ध्वस्त हुने जनाउदै बजारको विकल्प खोजिदै उत्तरतर्फ चुरे फेदीबाट लान माग गरेका थिए ।

त्यसपछि चुरे संग सम्बन्धित उपभोक्ता समिति र मदनभण्डारी मार्ग निर्माण सहयोग समितिले पुरानो बाटो नै यथावत हुनुपर्छ भन्दै ज्ञापन पत्र वुझाएको थियो ।

आइतबार पनि केराबारी गाउँपालिकामा मदनभण्डारी राजमार्ग खबरदारी समितिको नाममा आएको समुहले गाउँपालिकामा मदनभण्डारी मार्ग साविक स्थानमा नै निर्माण हुनुपर्ने खवरदारी गर्दै असहमतिको ज्ञापन पत्र पेश गरेको छ ।

खबरदारी समितिका संयोजक मिनाहाङ लिम्बु र सचिव देवी थापा मगरको नेतृत्वमा आएको टोलीले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।