विराटनगर/विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउने गुणराज ओझालाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ ।

ओझाबाट ठगिएका ५० भन्दा बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालय मोरङमा मङ्गलबार ठगी मुद्दामा उजुरी दिएपछि उनलाई खोज्न प्रहरी परिचालित भएको हो । मोरङको लेटाङ घर बताउने उनी विराटनगर–४ स्थित जमुनगाछीमा ससुराली घरमा बस्दै आएका थिए ।

केही दिनअघिसम्म विराटनगरमा खुलेआम हिड्ने उनी कर्मचारीले उजुरी दर्ता गरेको खबर प्राप्त गर्ने बित्तिकै फरार रहेका छन् । प्रहरीमा उजुरी दर्ता हुनुअघिसम्म ओझाले ज्यानमार्ने धम्कीसम्म दिँदै आएका थिए ।

प्रहरी र श्रम कार्यालयमा उजुरी गरेपछि निवेदन दिने कर्मचारीलाई ओझाले आइजिपी सर्बेन्द्र खनाल आफ्नो भाञ्जे ज्वाईँ भएको बताउँदै ज्यान मार्नेसम्मको धम्की दिने गरेको पीडित नितेश खतिवडाले बताए ।

उनले आफूलाई फोन र एसएमएसबाट धम्की दिएको बताए । ‘तपाईँको पनि परिवार छ होला भन्दै धम्की दिइरहने गरेका थिए’, खतिवडाले भने । ओझाले अधिकृतदेखि पियन स्तरमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगेको पीडितहरू बताउँछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको आफू विश्वास पात्र रहेको बताउने ओझाले बिराटनगर–४, साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ठगी गर्दै आएका थिए ।

ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कबिहीन भएका हुन् । काम गर्ने कर्मचारीहरुबाट उल्टै ५ हजारदेखि ३ लाख सम्म ऋण लिएको पीडितहरू बताउँछन् ।

कम्पनी सञ्चालक ओझा फरार भएपछि ५० जना कर्मचारीले श्रम कार्यालय विराटनगरमा उजुरी गरेका थिए ।

कात्तिक १८ गते श्रम कार्यालयमा उजुरी परेपछि श्रम कार्यालयले २० गते ओझालाई उपस्थित हुन पत्र काटेको थियो । तर, ठेगाना पत्ता नलागेपछि कार्यालयले शुक्रबार दोस्रो पत्र पठाएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

श्रम कार्यालयले आवश्यक कारवाहीको लागि विभिन्न १७ वटा सरकारी कार्यालयलाई समेत वोदार्थ पत्र पठाएको छ । कार्यालयले प्रहरीदेखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई पठाएका छन् ।